सुकेटार विमानस्थलमा असारयता उडान ठप्प

“मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। सुरक्षाको दृष्टिकोणले उडान रोक्नुपरेको हो,” स्टेसन इन्चार्ज कार्कीले भने।

फुङ्लिङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प भएको छ। जेठ ३० गतेयता उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ। 

सुकेटारमा चार महिना लामो बन्दपछि चैत अन्तिम साताबाट उडान सञ्चालनमा आएको थियो। विमानस्थलका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन्।

“मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन। भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो,” उनले भने। प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौँ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रु मर्कामा परेका छन्।

नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको संख्या पनि घट्दै गएको छ। टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रु गाडीबाट लामो दूरीको यात्रा गर्न बाध्य भएका छन्।