देशभर १५ प्रतिशत धान रोपाइँ

सुदूरपश्चिममा सबैभन्दा बढी ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। यस वर्ष मुलुकभर १३ लाख ९१ हजार ३२१ हेक्टरमा धान रोपाइँ हुने जनाइएको छ।     

तस्वीर: रासस।

काठमाडौँ– शुक्रबारसम्म देशभर करिब १५.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रकाअनुसार देशभर १३ लाख ९१ हजार हेक्टरमा धानखेती हुने गरेकोमा हालसम्म दुई लाख १७ हजार हेक्टरमा रोपाइँ सकिएको हो। यो गत वर्षको तुलनामा १.६ प्रतिशतले कम हो।

सुदूरपश्चिममा हालसम्म सबैभन्दा बढी ४५.५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ३९.१,  लुम्बिनीमा ९.७,  गण्डकीमा १३.८, बागमतीमा २०.५, मधेशमा ३.९ र कोशीमा १४.३ प्रतिशत धान रोपाइँ सकिएको छ। 

समयमा वर्षा भए पनि पहाडको तुलनामा तराईका जिल्लामा ढिलो धान रोपाइँ भएकाले थोरै प्रतिशत देखिएको केन्द्रले जनाएको छ। यस वर्ष मुलुकभर १३ लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रफलमा धान रोपिने केन्द्रको अनुमान छ।