सयौँको संख्यामा भेडा, गाइ, भैँसीलगायत पशु पाल्ने किसानहरू लेकबेँसी गरिरहन्छन्। यतिबेला लेकमा उक्लिएका गोठाला अब असोज पहिलो साता मात्रै बेँसी झर्छन्।
ढोरपाटन– बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परा नै हो। निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेँसी गर्ने गर्छन्।
यस वर्ष पनि बर्खा लागेसँगै गोठालाहरू वस्तुभाउ लिएर लेक उक्लिन थालेका छन्। असार पहिलो सातादेखि नै लेक उक्लिन शुरू गरेका कोही गोठमै पुगिसके भने कोही बीच बाटोमा छन्। असार अन्तिम सातासम्म सबै गोठाला लेकमा पुगिसक्छन्।
एकै परिवारले सयौँको संख्यामा पशुपाल्ने हुँदा हिउँद बर्खा लेकबेँसी गर्नु परेको हो। यतिबेला लेकमा उक्लिएका गोठाला अब असोज ५ पछि मात्रै बेँसी झर्छन्। बर्खाभरी लेकमा बस्ने गोठलाले चार महिनालाई पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन्।
लेकमा बस्ने अधिकांश किसानको भेडीगोठ हुन्छ। केहीले गाई र भैँसी पनि लिएर गएका हुन्छन्। बर्खाभरी लेकमा बस्दा पशुको रेखदेखसँगै चोयाबाट बन्ने डोको, नांगो, डाली, मान्द्रो र काठबाट बन्ने सामग्री बनाउने गर्छन्। जसले उनीहरूको आयआर्जनमा टेवा पुर्याएको हुन्छ।
गोठाला समुन्द्री सतहदेखि चार हजार ८०० मिटरको उचाइसम्म पुगेर गोठ बनाएर बस्ने गर्छन्। ढोरपाटन–९ का तिलबहादुर मगर यसपालि ढिलोगरी लेक उक्लिए। गत वर्ष उनी असारको ३ गते नै गर्पाछेडा पुगेका थिए। “मेरा साथी त एक साता पहिले नै लेकमा पुगिसके, यसपालि घरमा काम गर्ने मान्छे थिएनन्, बारी बाँझो राख्न भएन, कोदो लगाएर जाऊँ भन्दा ढिलो भयो, मेरा १२/१५ वटा गाई र गोरु छन्,” उनले भने।
६७ वर्षीय मगरले आफू नौ वर्षको उमेरदेखि भेडीगोठसँग लेकबेसी गर्न थालेको बताए। गाउँमा वस्तुभाउ पाल्ने सबै किसान लेक उक्लिसकेको उनको भनाइ छ। बर्खाको समय गाउँ सुनसान हुने भन्दै दसैँ शुरू हुन थालेपछि मात्रै मान्छेको चहलपहल हुने मगरले बताए।
पहिलेको तुलनामा अहिले पशुपालन गर्नेको संख्या कम हुँदै गएको उनी बताउँछन्। आफूले लामो समयदेखि पशुपालन गर्दै आएको कतैबाट अनुदान नपाएको मगरले गुनासो पोखे।
खासगरी किसान रिग, सोलेडाँडा, गर्पाछेडा, टिकाधार, पोखरा, दहखर्क, खानीखोलालगायत लेकमा पुग्ने गर्छन्। यी क्षेत्रमा पश्चिम बागलुङका मात्रै नभएर रोल्पा, रुकुम, डोल्पाबाट पनि सयौँको संख्यामा गोठाला भेडा लिएर आउने गरेको निसीखोला गाउँपालिका–६ का पृथराम घर्ती मगरले बताए।
लेकमा धेरै ठाउँबाट गोठाला आउँदा रमाइलो हुने भन्दै समस्या पर्दा एकले अर्कालाई सहयोग गर्ने उनको भनाइ छ। लेकमा पर्याप्त घाँस हुने हुँदा धेरै जसो गोठाला बर्खाको समय बस्तीमा नबस्ने घर्ती मगरले सुनाए। उनका ५०० बढी भेडा छन्।
“बाउबाजेले भेडाबाख्रा नपालेको भए सायद अहिले हामी यो पेसामा हुने थिएनौँ, ऊ बेला पढ्ने गर्ने चलन थिएन, म अहिले ७९ वर्षमा लागे, जन्मेदेखि नै बाउआमाले मलाई गोठमा हिँडाउनु भएको रैछ, त्यही भएर होला यो पेसा छोड्नै मन लाग्दैन,” घर्ती मगरले भने, “बुढेसकाल लाग्यो, अब त केही वर्षपछि लेक उक्लिन सकिँदैन होला, बर्खामा बेसीमा वस्तुभाउ राख्न पाइँदैन, त्यहाँ बारीभरी खेती गरिएको हुन्छ, त्यही भएर अब दसैँ मान्न मात्रै तल झर्ने हो।”
लेकबेसी गरेरै आफ्नो छ दशक बितेको तमानखोलाका गोरबहादुर रसाइलीले बताए। दुई महिनाका लागि चाहिने अन्नपात लिएर लेक उक्लिन थालेको उनको भनाइ छ। बिरामी नपरे र कुनै समस्या नभए भदौमा मात्रै खर्च लिन घर झर्ने रसाइलीले बताए। गाउँबाट लेक पुग्न झन्डै दुई दिन लाग्ने हुँदा लामो समयका लागि एकै पटक खर्च लिएर जाने गरेको उनी बताउँछन्।
“अब आउने दसैँमा २०/३० वटा जति भेडा बिक्री गर्नु छ, त्यसले गर्दा पोहोर सालभन्दा केही दिन अगाडि बेसी झर्ने योजना बनाएको छु, भेडा बिक्रीबाट नुनतेल खाने पैसा आउँछ,” रसाइलीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
