सोमबारसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

सोमबारसम्म भारी वर्षाले नदीनालामा पानीको सतह बढ्ने भएकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र डुबान क्षेत्र तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन विपद् जोखिम न्यूनीकरण प्राधिकरणले आग्रह गरेको छ।

सिमलतालमा गत २०८१ असारमा गएको पहिरोमा परेका यात्रु खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी। तस्वीरः कृष्ण आचार्य/रासस

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले मनसुन सक्रिय भएर देशका विभिन्न भागमा बाढी र पहिरोको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको बताएपछि प्राधिकरणले पूर्वतयारी तथा सावधानीका उपाय अपनाउन सबैलाई अनुरोध गरेको हो।

“जल तथा मौसम विज्ञान विभागले असार १४ गते साँझदेखि १६ गतेसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षसम्मको सम्भावना रहेको जनाएको छ। भारीदेखि धेरै भारी वर्षाको कारण भू–क्षय, बाढीपहिरो, डुबान तथा गेग्र्यान बहावको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र पूर्वतायरी तथा पूर्वकार्य गर्न हार्दिक अनुरोध गरिन्छ,” प्राधिकरणका प्रवक्ता सुरेश सुनारले शनिबार साँझ जारी गरेको सूचनामा भनिएको छ।

उनले लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशको बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लालाई उच्च जोखिममा राखिएको जानकारी दिएका छन्।

प्राधिकरणले भारी वर्षाका कारण सानाठूला नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने र त्यसबाट दैनिक जनजीवन, कृषि क्षेत्र तथा पूर्वाधारमा क्षति पुग्न सक्ने सम्भावना औँल्याएको छ। 

यस परिस्थितिलाई मध्यनजर गर्दै प्राधिकरणले असार १६ गतेसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न, डुबान हुनसक्ने क्षेत्रका भइँतलामा बस्ने र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। 

त्यस्तै, नदी किनारामा कुनै पनि किसिमका निर्माण कार्य स्थगित गर्न, उच्च जोखिममा रहेका क्षेत्रहरूमा तत्काल आवश्यक पूर्वतयारीका उपायहरू अपनाउन, साथै प्रतिकार्यका लागि तीनै तहका सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा रहन पनि प्राधिकरणले अनुरोध गरेको छ।