थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा

कम्बोडियाका नेतासँगको विवादास्पद फोन वार्तापछि थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।

थाइल्यान्डको राजधानी बैंककमा शनिबार हजारौँ सरकारविरोधी प्रदर्शनकारी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग गर्दै सडकमा उत्रिएका छन्। कम्बोडियाका एक अग्रज नेतासँगको सीमा विवादसम्बन्धी फोन वार्ता सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा तानिएकी छन्। उक्त वार्तामा प्रधानमन्त्रीले ती नेतालाई 'अंकल' सम्बोधन गरेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो 'प्रतिद्वन्द्वी' भनेको भन्दै उनीविरुद्ध जनआक्रोश बढेको छ।

३८ वर्षीया प्रधानमन्त्री पेटोङटार्नमाथि कम्बोडियासामु अनावश्यक झुकेको र थाइल्यान्डका सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लागेको छ। यसै कारण उनको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिनअघि सरकारसँगको सहकार्य तोडेको घोषणा गरेको थियो।

शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड्’ लेखिएका थाई झन्डा र प्लेकार्ड बोकेर सडक जाम गरेका थिए। प्रदर्शनमा सहभागी एक नेताले नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, “प्रधानमन्त्रीज्यू, तपाईंले देशद्रोह गर्नुभयो।”

प्रदर्शनमा प्रायः वृद्धवृद्धाहरू सहभागी थिए र यसको नेतृत्व 'पहेंलो शर्ट' आन्दोलनका अनुभवी कार्यकर्ताले गरेका थिए। यो समूहले सन् २००० को दशकमा पेटोङटार्नका पिता थाक्सिन सिनावात्रालाई सत्ताबाट हटाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। थाक्सिनका पूर्वसहयोगी तर हालका कट्टर आलोचकमध्ये एक नेता यस आन्दोलनका प्रमुख आयोजक रहेका छन्।

एक ७० वर्षीय प्रदर्शनकारी सेरी सावाङमुएले एएफपीसँग कुरा गर्दै आफू थाइल्यान्डको सार्वभौमिकताको रक्षा गर्न र प्रधानमन्त्री अयोग्य रहेको भन्न आएको बताए। उनले गोप्य रूपमा बाहिरिएको फोन कल सुनेपछि प्रधानमन्त्रीमाथि विश्वास टुट्दा आफूलाई ‘धेरै राजनीतिक संकट’बाट गुज्रिएको महसुस भएको र देशको सार्वभौमिकता जोखिममा रहेको बताए।

थाइल्यान्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने ‘पहेंलो शर्ट’ र थाक्सिन-समर्थित ‘रेड शर्ट’ बीच दशकौँदेखि संघर्ष चल्दै आएको छ। एक ६४ वर्षीय प्रदर्शनकारी जमनोङ कलानाले आफू कुनै समय ‘रातो सर्ट’ समूहको भए पनि अहिले ‘रङ परिवर्तन’ गरेर प्रधानमन्त्री पेटोङटार्नको राजीनामा माग गरिरहेको बताए। “देशलाई माया नगर्ने थाई साथीलाई देख्दा मलाई पीडा हुन्छ,” उनले भने।