सुनसरीमा मोटरसाइकल दुर्घटना: बाबुछोरासहित ३ जनाको मृत्यु, २ घाइते

कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।

फाइल तस्वीर।

इटहरी– सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छीचोक सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

शनिबार राति कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन्। 

उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।