भारतको उडिसामा रथ महोत्सवमा भागदौड हुँदा ३ जनाको मृत्यु

भारतको उडिसामा रथ महोत्सवमा भएको भागदौडमा तीन जनाको मृत्यु भएको छ। मुख्यमन्त्री मोहनचरण माझीले घटनाको छानबिन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

तस्वीर : द हिन्दु/एक्स

भारतको पूर्वी तटीय राज्य उडिसाको पुरीमा आइतबार हिन्दू धर्मावलम्बीको रथ महोत्सवमा भएको भागदौडमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। यो घटना गुन्डिचा मन्दिरनजिकै हजारौँ भक्तजनको भीड जम्मा भएको बेला भएको हो।

जिल्ला प्रशासनका अधिकारी सिद्धार्थ स्वैनका अनुसार मन्दिरमा अचानक भीड बढेपछि आवागमनमा समस्या भई पेलापेल र भागदौड मच्चिएको थियो। यस क्रममा श्वासप्रश्वासमा समस्या भएका नौ जना भक्तजनलाई अस्पताल भर्ना गरिएको थियो, जसमध्ये तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य घाइतेहरूको अवस्था स्थिर रहेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमले महोत्सवमा सहभागी अन्य धेरै व्यक्ति घाइते भएको उल्लेख गरे पनि सरकारी अधिकारीहरूले भने यसको तत्काल पुष्टि गरेका छैनन्।

उडिसाका मुख्यमन्त्री मोहनचरण माझीले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “यो लापरबाही अक्षम्य छ। सुरक्षामा भएका कमीकमजोरीको तत्काल छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न निर्देशन दिएको छु।”

भारतमा धार्मिक चाडपर्वमा घातक भागदौड र भीडभाडका घटना सामान्य मानिन्छन्। गत मेमा गोवा राज्यमा आगोमाथि हिँड्ने अनुष्ठानका क्रममा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। यस्तै, जनवरीमा उत्तरी शहर प्रयागराजमा भएको कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाले ज्यान गुमाएका थिए।