ट्रम्पको आयातित स्टिल करले अमेरिकी क्यान निर्माता ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ जस्ता साना उद्योगहरूलाई सामग्री अभाव, लागत वृद्धि र उत्पादन–माग व्यवस्थापनमा चुनौती थपेको छ।
अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरको माग बढेको भए तापनि, ती कन्टेनर बनाउने उद्योग राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको चर्को इस्पात करका कारण कन्टेनर निर्माणका लागि आवश्यक स्टिलको अभावको सामना गरिरहेका छन्।
बाल्टिमोरको उत्तरपूर्वमा रहेको मेरिल्यान्डको बेलक्याम्पमा अवस्थित ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’का कार्यकारी अधिकृत रिक ह्युथरले टिनका क्यान उत्पादन गर्ने आफ्नो परिवारिक व्यवसायलाई आगामी पुस्तासम्म बचाइराख्न राख्न कटिबद्ध रहेको बताएका छन्। तर, ट्रम्पले आयातित स्टिल र आल्मुनियममा लगाएको २५ प्रतिशत करले यो कार्यलाई थप जटिल बनाइरहेको उनको भनाइ छ। “हामी अहिले अस्तव्यस्तताबीच बाँचिरहेका छौँ,” ह्युथरले एएफपीसँग भने।
गत जनवरीमा राष्ट्रपतिको पुनः जिम्मेवारी सम्हालेपछि ट्रम्पले लगाएको यो करले इन्डिपेन्डेन्ट क्यानको गतिविधिलाई प्रत्यक्ष असर गरेको छ। कम्पनीमा क्यान बनाउने स्टिलको मूल्य अत्यधिक बढेपछि नयाँ खरिद रोकिएको र त्यसले अभाव बढाएको ह्युथर बताउँछन्। नयाँ कर नीतिका कारण कम्पनीले क्यानको मूल्य समायोजन गरेर बजारमा सामान पठाउनुको विकल्प नरहेको उनको भनाइ छ।
इस्पात प्लेटको अभाव
ह्युथरको कारखानामा कुकिज, सुक्खा फल, कफी र दूध पाउडरजस्ता दैनिक खाद्य सामग्रीको सुरक्षित भण्डारणका लागि टिनको लेप लगाइएका पाता (टिनप्लेट) प्रयोग गरिन्छ। ह्युथरका अनुसार, अमेरिकामा निर्मित टिनप्लेट उनको जस्तो कम्पनीका लागि पर्याप्त छैन। “टिनका भाँडा (क्यान) बनाउन हामी केवल २५ प्रतिशत टिनप्लेट संयुक्त राज्य अमेरिकाबाट प्राप्त गर्न सक्छौँ। हाम्रो इस्पातको ७० प्रतिशत हिस्सा हामी छिमेकबाट खरिद गर्न आवश्यक छ,” उनले स्पष्ट पारे।
ह्युथर अमेरिकी उत्पादन आधार बढाउने पक्षमा रहे पनि, विश्वव्यापीकरणको वर्तमान अवस्थामा ट्रम्पका नीतिले सामानको अभाव बढाउने चिन्ता उनलाई छ। ट्रम्पले घोषणा गरेका ठूला करमध्ये केही त्यस्ता वस्तुमा पनि लगाइएका छन् जसको उत्पादन सम्बन्धित देशमा हुँदैन र विदेशबाट आयात गर्नुपर्ने बाध्यता हुन्छ।
इन्डिपेन्डेन्ट क्यान उद्योगले हाल चार निर्माणस्थलमा करिब ४०० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। वर्तमान उथलपुथलका बाबजुद कम्पनीले कुनै पनि उत्पादन कम नगर्ने बरु माग बढिरहेकाले उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको ह्युथरले औँल्याए। ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा स्टिलमा गरिएको करवृद्धिका कारण आयोवामा कम्पनीको एउटा प्लान्ट गत वर्ष आंशिक रूपमा बन्द भएको पनि उनले जानकारी दिए।
मूल्यवृद्धिको असर
ह्युथरका अनुसार यदि राष्ट्रपतिले इस्पातमा ५० प्रतिशतसम्म कर लगाएमा इन्डिपेन्डेन्ट क्यानले अन्ततः २० प्रतिशतभन्दा बढी मूल्य बढाउनुपर्नेछ, किनकि टिनप्लेटले उत्पादन लागतको एक महत्त्वपूर्ण हिस्सा ओगट्छ।
अर्थतन्त्रबारे चिन्ता र पर्याप्त व्यवसाय नभएको कारण केही क्रेताले यस वर्ष आफ्नो अर्डरमा २० देखि २५ प्रतिशतले कटौती गरिसकेको ह्युथर बताउँछन्। कोभिड-१९ संकटको अनुभवलाई उद्धृत गर्दै उनले अहिले अमेरिकीहरू अमेरिकी सामान किन्न इच्छुक देखिए पनि, अभावले मागलाई सम्बोधन गर्न असहज भइरहेको बताए।
“महामारीको समयमा चीनसँगको आयात बन्द भएको र बन्दरगाह बन्द भएकोले हाम्रो व्यापार ५० प्रतिशतले बढ्यो, तर कच्चा सामग्रीको अभावमा माग पूरा गर्न असमर्थ हुनुपरेको थियो। जब महामारी समाप्त भयो, ग्राहकहरू चीनबाट खरिद गर्न थाले,” ह्युथरले भने।
इन्डिपेन्डेन्ट क्यानबाट सामान किन्न चाहनेहरूले कम्तीमा दुई वर्षको सम्झौता गर्न आवश्यक रहेको ह्युथरको भनाइ छ। “ताकि, कम्पनीले माग सम्बोधन गर्ने प्रयास गर्न सकोस्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
