पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडाैँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार दिनभर देशभरको माैसममा साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ।

यस्तै, राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान गरिएको छ।