रुससँग जारी युद्धका बीच युक्रेनी राष्ट्रपतिले लिए यो ठूलो निर्णय

युद्धको समयमा रुसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ। तर यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ।

काठमाडाैँ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सशस्त्र सेनालाई बारुदी सुरुङ प्रयोग गर्न आधिकारिक रूपमा अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन्।

युक्रेनले पहिले ओटावा सन्धिमा हस्ताक्षर गरेको थियो, जसले बारुदी सुरुङको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। यद्यपि, रूसले कहिल्यै यो सन्धिमा हस्ताक्षर गरेन। युद्धको समयमा रुसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ। तर यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ।

जेलेन्स्कीले आइतबार आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा रुस कहिल्यै पनि सम्मेलनको पक्षमा नभएको र ब्यालिस्टिक क्षेप्यास्त्रसहित अन्य हतियारसँगै बारुदी सुरुङको प्रयोग गर्दै आएको बताए। यद्यपि, राष्ट्रपति जेलेन्स्कीको आदेश अब युक्रेनी संसदबाट अनुमोदन हुन बाँकी छ।

यसैबीच, आधिकारिक रूपमा पोल्याण्ड, फिनल्यान्ड र तीन बाल्टिक देशहरू अर्थात् इस्टोनिया, लाटभिया र लिथुआनियाले पनि ओटावा सन्धिबाट पछि हट्ने जनाएका छन्।

युक्रेनले २००५ मा यो सन्धिमा हस्ताक्षर गरेको थियो। आफूले अतिक्रमण गरेका युक्रेनी भूभागमा रुसले मानवविरोधी सुरुङहरू व्यापक रूपमा प्रयोग गर्दै आएको छ। युक्रेनले युद्धपछि  पुन: प्राप्त गरेका ती भूभागमा रहेका सुरुङहरू हटाउने कार्यलाई प्राथमिकतामा राख्ने गर्छ।