दरबारमार्गमा लिफ्टको काम गर्दैगर्दा खसेर २ मजदुरको मृत्यु

दरबारमार्गमा निर्माणाधीन एउटा भवनको लिफ्टमा काम गर्दैगर्दा चौथो तलाबाट खसेर दुई कामदारको मृत्यु भएको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– काठमाडौँको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

मृत्यु हुनेमा कैलालीका ३० वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरी रहेका छन्।

सोमबार साँझ ५ बजेतिर उनीहरू चौथो तलामा लिफ्टमा बसेर ग्रिज लगाउँदै गर्दा फलामको सिक्री चुँडिएर गम्भीर घाइते भएका थिए।

तत्कालै उद्धार गरी वीर अस्पताल लगिएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।