वीरगन्ज भन्सार: भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

वीरगन्ज नाका हुँदै भारतमा निर्यातको हिस्सा ९५.०५ प्रतिशत छ। धेरै निर्यात हुने दोस्रो मुलुकमा अमेरिका रहेको छ।

फाइल तस्वीर।

वीरगन्ज– चालु आर्थिक वर्षको ११ महिनामा भारत हुँदै वीरगन्ज नाकाबाट ४ खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै कुल आयातको ७६.८ प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ। यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ। यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्छ। 

चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन्। सो मुलुकबाट भित्रिएका सामानको हिस्सा भने ८.२७ प्रतिशत छ। त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा २८ अर्ब ८६ करोड रुपैयाँको वस्तु तथा सामान यहाँ भित्रिएका छन्।

चीनबाट आयात हुनेको हिस्सा भने १.२२ प्रतिशत छ। चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगन्ज नाकामा ५ खर्ब ६५ अर्ब ४२ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएका छन्।

त्यसैगरी, वीरगन्ज नाकाबाट चालु आवको ११ महिनामा ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ। यो नाका हुँदै ११ महिनामा ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ। 

भारतमा निर्यातको हिस्सा भने ९५.०५ प्रतिशत छ। धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ। जहाँ कुल निर्यातको २.३८ प्रतिशत अर्थात् २ अर्ब १८ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ। त्यस्तै अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ।