बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका छन्। उनीहरूले त्यहाँ त्रिपाल, पुराना च्यातिएका प्लास्टिक र कपडाले ढाकेर टहरा बनाएका छन्।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्न थालेका छन्।
बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका हुन्। लगातार दुई दिनदेखि अविरल वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढन थालेपछि बासस्थान छाड्नुपरेको कलावती दमाईले बताइन्।
“गत वर्ष राति सुत्ने तरखर गरिरहेका बेला बाढीले शिविर डुबाउँदा एकसरो लुगामा भागेर ज्याउन जोगाएका थियौँ,” उनले भनिन्, “यो वर्ष पनि त्यो पीडा खेप्नु नपरोस् भनेर बाढी आउनुआगावै ओढ्ने, ओछ्याउने कपडासहित सुरक्षित स्थानमा सर्नुपरेको छ।”
केही भूमिहीन परिवारले त्रिपाल, पुराना च्यातिएका प्लास्टिक र कपडाले ढाकेर टहरा बनाएका छन्। टहरा पनि चुहिने भएकाले बालबालिकालाई काखीमा च्याप्दै भिज्दै रात काट्नुपरेको दलबहादुर बोहराले बताए।
“वर्षा नभएका बेला नदीमाथिको पक्की पुलमुनि सुत्ने गरेका छौँ,” उनले भने, “वर्षा भएपछि पुलमुनि बाढीको पानी आउने भएकाले चुहिने झोपडीमा गएर बस्नुपर्ने बाध्यता छ।”
पहिला नदीमा बाढी आउन थालेपछि सामुदायिक वन क्षेत्रको उँचो क्षेत्रमा गएर रुखमुनि ओत लाग्ने गरेको प्रकाश साउदले बताए। “वन क्षेत्रमा लामखुट्टेले टोकेर हैरान बनाउँथ्यो,” उनले भने, “बर्खे झरीमा भिजेरै भए पनि ज्यान जोगाउने गरेका थियौँ, खाद्यान्नलगायत सामान बोकेर लैजान नसकिँदा नोक्सानी हुन्थ्यो, त्यही भएर राजमार्ग छेउमा झोपडी बनाएर बस्न थालेका हौँ।”
भूमिहीन परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। वर्षात्को समय भएकाले मजदुरी नपाइँदा भोकभोकै बस्नुपरेको गुनासो माघी रावतले सुनाए।
झुल, त्रिपाल र टर्च लाइटको व्यवस्था गरिदिन वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म पटक–पटक धाए पनि सुनवाइ हुन नसकेको भूमिहीन परिवार बताउँछन्। “जनप्रतिनिधिले समस्या समाधान गर्छौं भन्थे, अहिले जाँदा झर्केर बोल्न थालेपछि माग्नका लागि जानै छाडेका छौँ,” भूमिहीन परिवारहरू भन्छन्।
शिविरमा बस्दै आएका परिवारले भूमि समस्या समाधान आयोगको लगतमा जग्गा र आवासका लागि निवेदन दिएका छन्। निस्सा प्राप्त गरे पनि अहिलेसम्म बसोबासको टुंगो लाग्न सकेको छैन। वनहरा भूमिहीन शिविरमा २८ परिवारको बसोबास छ।
भूमिहीन परिवारले झोपडीमा राख्नका लागि त्रिपाल, वर्षात्का बेला काम नपाइँदा दुई छाक खानका लागि अन्नको व्यवस्था र रातिका बेला हिँडडुल गर्न टर्चलाइटको व्यवस्था गरिदिन दातृ निकायसँग अनुरोध गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
