दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

हैदराबादबाट करिब ५० किलोमिटर टाढास्थित एक औषधि कारखानामा सोमबार विस्फोटपछि आगलागी भएको थियो। विस्फोट हुँदा कारखानाभित्र १०८ कामदार रहेको जनाइएको छ।

भारतको दक्षिणी राज्य तेलंगनाको एक औषधि कारखानामा भएको विस्फोट र आगलागीमा कम्तीमा ३६ कामदारको मृत्यु भएको छ। तीन दर्जनभन्दा बढी  घाइते भएका छन्।

हैदराबादबाट करिब ५० किलोमिटर टाढाको औद्योगिक क्षेत्रस्थित सिगाची इन्डस्ट्रिजमा दुर्घटना भएको हो। घटनास्थलबाट दमकलकर्मीले जलेका ३४ शव फेला पारेको राज्यका दमकल सेवा निर्देशक जीभी नारायण रावले बताए। 

अन्य दुई कामदारलाई उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए। थप कामदार आगोमा फसेका छन् कि छैनन् भनेर पत्ता लगाउन नष्ट भएको औषधि एकाइको भग्नावशेष हटाउने काम भइरहेको उनले बताए। 

घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ। “कारखानाको सम्पूर्ण संरचना भत्किएको छ। आगो निभाइएको छ र हामी आगामी केही घण्टामा भग्नावशेष हटाउने काम सकिने आशा गर्छौं,” रावले भने।

रावका अनुसार कारखानाको स्प्रे ड्रायर युनिटमा सोमबार विस्फोट र त्यसपछिको आगलागी भएको थियो। जुन कच्चा माललाई औषधि बनाउनका लागि फाइन पाउडरमा प्रशोधन गर्न प्रयोग गरिन्छ।

राज्यका स्वास्थ्यमन्त्री दामोदर राजा नरसिंहले विस्फोट हुँदा कारखानाभित्र १०८ कामदार रहेको जानकारी दिए। “शव नराम्ररी जलेका कारण डीएनए परीक्षण गर्न विशेष मेडिकल टोली तैनाथ गरिएको छ,” उनले भने। राज्य सरकारले घटनाको कारण अनुसन्धान गर्न समिति गठन गरेको उनले बताए। 

प्रत्यक्षदर्शीले घटनास्थलबाट केही किलोमिटर टाढाबाट विस्फोटको आवाज सुनेको बताएका छन्।