झापामा ८ जनामा कोभिड संक्रमण

संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण शुरू गरिएको छ।

झापा– जिल्लामा कोभिड-१९ विरुद्धको १५ हजार मात्रा फाइजर खोप आइपुगेको छ। स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीका अनुसार, नयाँ खोप तालिकासहित यो खोप जिल्लामा प्राप्त भएको हो।

प्रमुख बाराकोटीले झापाका पालिकाहरूसँग समन्वय गरी खोप वितरण गरिने र अब नयाँ तालिकाअनुसार खोप कार्यक्रम अघि बढ्ने जानकारी दिए। उनका अनुसार नयाँ खोप तालिकाले पाँच प्रकारका जनसंख्यालाई प्राथमिकतामा राखेको छ। रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिहरू, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथि उमेरका अन्य व्यक्तिहरू, पाँच वर्षदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोपको प्राथमिकतामा राखिएको हो।

यसैबीच, झापामा कोभिड संक्रमणका घटनाहरू देखिन थालेका छन्। हाल जिल्लामा आठ जना कोभिड संक्रमित फेला परेका छन्। तीमध्ये पाँच जना झापाकै रहेका छन् भने मोरङ, इलाम र दोलखाका एक-एक जना छन्।

संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण शुरू गरिएको छ। नाकामा कोभिड परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मी खटिएका छन्। यद्यपि, प्रमुख बाराकोटीले बिरामीलाई राख्ने अस्पतालको टुंगो लागी नसेको बताए। उनले भने, “जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने अन्योल छ।”