ट्रम्पको सहायता कटौतीले १ करोड ४० लाख मानिसको मृत्यु हुनसक्छ: अध्ययन

ट्रम्प प्रशासनको ‍विदेशी सहायता कटौतीका कारण सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी मानिसले ज्यान गुमाउन सक्ने ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले प्रक्षेपण गरेको छ।

ट्रम्प प्रशासनले अमेरिकी विदेशी सहायता रोक्दा सन् २०३० सम्ममा विश्वभरका एक करोड ४० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने एक नयाँ अध्ययनले औँल्याएको छ। प्रतिष्ठित ल्यान्सेट जर्नलमा प्रकाशित यस अध्ययनअनुसार, तीमध्ये एक तिहाइ पाँच वर्षमुनिका बालबालिका हुनेछन्। यो अध्ययन प्रतिवेदन स्पेनमा संयुक्त राष्ट्रसंघको सम्मेलन हुनुअघि सार्वजनिक गरिएको हो।

अमेरिकी एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएड)ले विश्वव्यापी मानवीय कोषमा ४० प्रतिशतभन्दा बढी योगदान गर्दै आएको थियो। जनवरीमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किनुलगत्तै सहयोग बन्द गरिएपछि यसबाट उत्पन्न हुन सक्ने भयावह परिणामबारे प्रतिवेदनमा चेतावनी दिइएको छ।

बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थ (आइएसग्लोबल)का सह-लेखक डेभिडे रसेलाले कोष कटौतीले ‘जोखिममा रहेका जनसंख्याको स्वास्थ्यमा दुई दशकको प्रगतिलाई अचानक रोक्ने र उल्ट्याउने’ जोखिम रहेको बताए। निम्न र मध्यम आय भएका देशका लागि यसको परिणाम विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वको मापदण्डसँग तुलना गर्न सकिने उनको भनाइ थियो।

१३३ राष्ट्रको तथ्यांकको विश्लेषण गर्दै अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय टोलीले यूएसएड कोषले सन् २००१ देखि २०२१ सम्म विकासशील देशमा नौ करोड १८ लाखको मृत्यु रोकेको अनुमान गरेको छ। यो संख्या दोस्रो विश्वयुद्धमा मर्ने अनुमानित संख्याभन्दा बढी हो।

शोधकर्ताहरूले अमेरिकी सरकारले घोषणा गरेको ८३ प्रतिशत कोष कटौतीले मृत्युदरमा पार्ने प्रभावको मोडलिङ पनि गरेका छन्। यस कटौतीले सन् २०३० सम्ममा एक करोड ४० लाखभन्दा बढीको मृत्यु हुन सक्ने अनुमान गरिएको छ, जसमध्ये ४५ लाखभन्दा बढी पाँच वर्षमुनिका बालबालिका हुनेछन्। यो संख्या प्रथम विश्वयुद्धमा मारिएका करिब एक करोड सैनिकको संख्यासँग तुलना गर्न सकिन्छ।

अध्ययनले यूएसएडद्वारा समर्थित कार्यक्रम सबै कारणबाट हुने मृत्युमा १५ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकाको मृत्युमा ३२ प्रतिशत कमीसँग जोडिएको देखाएको छ। विशेषगरी, एचआईभी/एड्सबाट हुने मृत्यु ६५ प्रतिशत र मलेरिया तथा उपेक्षित उष्णकटिबन्धीय रोगहरूबाट हुने मृत्यु आधाले घटेको पाइएको छ।

मोजाम्बिकको म्यानहिका हेल्थ रिसर्च सेन्टरका सह-लेखक फ्रान्सिस्को साउटले यूएसएडको कटौतीले जनजीवन मात्र नभई दशकौँदेखि निर्माण भएका महत्त्वपूर्ण पूर्वाधारलाई पनि कमजोर बनाउने बताए। बोस्टन विश्वविद्यालयको एक ट्र्याकरले अमेरिकी सहायता कटौतीका कारण हालसम्म एक लाख आठ हजार वयस्क र दुई लाख २४ हजारभन्दा बढी बालबालिकाको मृत्यु भइसकेको अनुमान गरेको छ, जुन प्रतिघण्टा ८८ जनाको मृत्यु बराबर हो।

यूएसएड बन्द भएपछि फ्रान्स, जर्मनी र बेलायत लगायतका अन्य धेरै प्रमुख दाताले पनि आफ्नो विदेशी सहायता बजेट घटाउने योजना घोषणा गरेका छन्, जसले युरोपेली संघमा पनि आगामी वर्षमा थप मृत्यु निम्त्याउन सक्ने आइएसग्लोबलकी सह-लेखक क्याटरिना मोन्टीले बताएकी छन्।

यस हप्ता स्पेनको सेभिलमा हुन लागेको दशककै ठूलो सहायता सम्मेलनमा संयुक्त राज्य अमेरिका उपस्थित नहुने भएको छ। रसेलाले ‘अहिले कोष कम गर्ने होइन, बढाउने समय हो’ भनेर जोड दिएका छन्।

यूएसएडले सम्पूर्ण अमेरिकी संघीय खर्चको ०.३ प्रतिशत मात्र प्रतिनिधित्व गर्दथ्यो र प्रतिवर्ष अमेरिकी नागरिकले लगभग ६४ डलर मात्र योगदान गर्दथे।

अध्ययनका सह-लेखक जेम्स म्याकिन्कोले लाखौँको ज्यान बचाउन यति सानो योगदान कति प्रभावकारी हुनसक्छ भन्ने थाहा पाएमा अधिकांश अमेरिकीले यूएसएडको कोषलाई निरन्तर समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्। (रासस/एएफपी)