नेपालले जोखिमयुक्त चार हिमतालको सतह घटाउन र जलवायुजन्य विपद् न्यूनीकरणका लागि हरित जलवायु कोषबाट करिब पाँच अर्ब रुपैयाँ (३.६२ करोड अमेरिकी डलर) अनुदान पाउने भएको छ।
काठमाडौँ– नेपालले जोखिममा रहेका चार हिमतालको सतह घटाउनका लागि करिब पाँच अर्ब रुपैयाँ बराबरको अनुदान पाउने भएको छ। मंगलबार हरित जलवायु कोष (जीसएफ)को पोपुआ निउगिनीको राजधानी पोर्ट मोरिस्बीमा बसेको ४२औँ बोर्ड बैठकले नेपालबाट पेश भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विस्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत गरेको हो।
बैठकमा भाग लिन पोर्ट मोरिस्बीमा पुगेका अतिकम विकसित मुलुकहरूको समूह (एलडीसी)को तर्फबाट जीसीएफको वैकल्पिक बोर्ड सदस्य डा. सिन्धुप्रसाद ढुंगानाले यस परियोजनामा हरित जलवायु कोषबाट तीन करोड ६२ लाख अमेरिकी डलर अर्थात् करिब पाँच अर्ब रुपैयाँ अनुदान प्राप्त हुने निर्णय भएको पुष्टि गरे।
“विकसित मुलुकबाट १२ र विकासशील मुलुकबाट १२ गरी कुल २४ सदस्य हुने बोर्डमा कुनै प्रस्ताव मतदानबाट र कतिपय प्रस्तावहरू बोर्ड सदस्यबीच व्यापक छलफलपछि मात्र स्वीकृत भएका थिए। तर नेपालको प्रस्ताव भने सर्वसम्मतिले स्वीकृत भएको थियो,” उनले भने, “यसबाट कोष र बोर्डको नेपालप्रति सदस्यता रहेको प्रस्टै देखिन्छ। नेपालको राष्ट्रिय अनुकूलन योजनामासमेत गम्भीरतापूर्वक राखिएको हिमताल विस्फोटको जोखिममा यस्ता दर्जनौँ अरू परियोजनाको खाँचो छ।”
ढुंगानाले करिब सात वर्ष लगाएर तयार गरिएको यो परियोजनाको कार्यान्वयनबाट हिमताल विस्फोटको जोखिमबाट नेपाल जोगाउने उपायका लागि नमूना सिद्ध हुने अपेक्षा गर्न सकिने बताए। उनका अनुसार कोषको ४२औँ बैठकमा कुल १९ प्रस्ताव पेश भएकामा नेपालसहित १७ वटा प्रस्ताव पारित भएका छन्।
त्यसैगरी यस परियोजनामा नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी), स्वतन्त्र ऊर्जा उत्पादक संघले एक करोड ३८ लाख अमेरिकी डलर सहलगानी गर्ने प्रतिबद्धता जनाएका छन्। यो परियोजना नेपाल सरकारको तर्फबाट कोषको सम्बन्धन प्राप्त निकायको रूपमा यूएनडीपीले पेस गरेको हो।
यूएनडीपीका प्रवक्ता क्याको योकोसुकाले सातवर्षे उक्त परियोजना जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमसँगको साझेदारीमा लागू हुने जानकारी दिए। “यसले कोशी र गण्डकी नदी प्रणालीमा पर्ने करिब २२ लाख जनसंख्यालाई प्रत्यक्ष लाभ पुर्याउनेछ,” उनले भने, “यस परियोजनाअन्तर्गत उच्च जोखिमयुक्त चार वटा हिमतालको सतह घटाइने, पूर्वसूचना प्रणाली विस्तार गरिने, नदी किनारामा १५० हेक्टरभन्दा बढी क्षेत्रमा वन रोपणसहित प्राकृतिकमार्फत संरक्षण गरिने र विपद् पूर्व तयारी र जलवायु सहनशीलता अभिवृद्धि गरिने योजना रहेको छ।”
नेपालले यसअघि सोलुखुम्बुको इम्जा तालमा ३.४ मिटर पानीको सतह नियन्त्रणपूर्वक घटाएर सफलतापूर्वक सम्भावित विपद् टार्न सफल भएको थियो। अनुभवलाई यस परियोजनाले थप व्यापक बनाउने यूएनडीपीको विश्वास छ।
हिमालय क्षेत्रमा तापमान तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा यो परियोजना तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै दीर्घकालीन दूरदृष्टिमा आधारित जलवायु कार्यलाई सहयोग गर्ने भन्दै जलवायु अतियन्ता उत्साहित देखिएका छन्। वैज्ञानिक आधार, सरकारको नेतृत्व र अन्तरराष्ट्रिय सहकार्यको बलमा अघि बढाइएको यस अभियानले नेपाललाई जलवायु सहनशील देशको रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
परियोजनाले विशेषगरी नेपालका हिमाली क्षेत्रका नदी बेसिनमा जलवायु परिवर्तनका कारण उत्पन्न उच्च जोखिमलाई सम्बोधन गर्ने, हिमतालबाट सम्भावित बाढी व्यवस्थापन र तीव्र हिमाल क्षेत्रीय जलवायु प्रभावका कारण उत्पन्न हुने प्राकृतिक प्रकोपबाट स्थानीय समुदायको जीविका, संरचना तथा पूर्वाधारको सुरक्षा गर्नु लक्ष्य रहेको छ। सरकार, विकास साझेदार, विज्ञ तथा सरोकारवालाको दीर्घ प्रयासपछि परियोजना स्वीकृति भएकोमा सबै सरोकारवालालाई बधाई तथा धन्यवाद दिइएको छ।
यो सफलता नेपालको जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोग दातासँगको प्रभावकारी साझेदारीको प्रमाण स्वरूपसमेत हेरिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र यूएनडीपीको ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एन्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एन्ड तिब्बत, चाइना’ शीर्षकको अध्यायन प्रतिवेदनले नेपाल, भारत र चीनमा अवस्थित ४७ ओटा हिमताल फुट्न सक्ने बताएको छ। यूएनडीपी र इसिमोडले संयुक्त रूपमा गरको उक्त अध्यायन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ। यी हिमताल जुनसुकै बेलामा पनि फुट्नसक्ने र नेपालले ठूलो धनजनको क्षति बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
उक्त अध्ययान अनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ। तीनमध्ये केही अत्यन्त संवेदनशील मानिएका छन् जसले ठूलो मात्रामा जनधनको क्षति गराउने सम्भावना रहेको अध्ययानले देखाएको छ। प्रतिवेदनले जोखिममा रहेका हिमताल फुट्दा नेपालले विलियन डलरभन्दा बढी वित्तीय क्षति बेहोर्नुपर्ने र ठूलो मानवीय क्षति पनि गर्नसक्ने उल्लेख गरेको छ। प्रतिवेदनले क्षति न्यूनीकरणका लागि आवश्यक पूर्व तयारीका कार्यक्रम तय गर्न पनि सुझाव दिएको छ।
यस्तो अवस्थामा यो परियोजना नेपालको जलवायु अनुकूलन प्रयासमा ठूलो कोसेढुंगा साबित हुने विश्वास लिइएको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालभित्र जोखिममा रहेका २१ ओटा हिमताल जति पनि बेला फुट्न सक्ने र यसले ठूलो जोखिम निम्ताउन सक्ने खतरा रहेको बेलामा जिसिएफको अनुदानले जोखिम व्यवस्थापनका लागि सहयोग गर्ने भन्दै यो नेपालको लागि ठूलो उपलब्धि रहेको टिप्पणी गरे।
“यस्ता जोखिममा रहेका हिमतालका जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले खर्च व्यवस्थापन गर्न नसकिरहेको बेलामा अनुदान प्राप्त गर्नु हाम्रो लागि ठूलो सफलता हो। जिसिएफमा पहुँच पुग्नु पनि नेपालका लागि राम्रो भयो,” उनले भने, “उक्त अनुदानले चार ओटा हिमतालको जोखिम घटाउन सहयोग गर्ने भयो । अब बाँकी रहेका हिमतालको जोखिम घटाउनका लागि कसरी अगाडि बढ्ने भनेर योजना बनाउन पनि सहयोग हुनेभयो।” जोशीले भारत र चीनभित्र जोखिममा रहेका हिमताल फुट्दा नेपाललाई पनि असर पुग्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
