जुम्लाको राक्से पाटनमा पहिरोमा पुरिए एउटा घोडा र १३ भेडा

जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा सोमबार दिउँसो ४ बजे पहिरो जाँदा १३ भेडा र एउटा घोडा पुरिएर मरेका छन्।

कर्णाली– जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका १३ भेडा र एउटा घोडा पुरिएका छन्। सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो।

वर्षात्का कारण आएको पहिरोले पुरिएर १३ भेडा र एउटा घोडा मरेको भेटिएको ताम्ती टोप्लाका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरले जानकारी दिए।

उनका अनुसार कुहिरोले ढाकिएकाले कति अझै भेडा तथा घोडा मरेको भन्ने यकिन हुन सकेको छैन। कृषकहरूले भने आ–आफ्ना भेडा जम्मा गरिरहेका छन्।

घटनास्थल करिब ८ घण्टा पैदल यात्रा हिँड्नुपर्दछ। इन्चार्ज बलायरको नेतृत्वमा स्थानीयसहित सुरक्षा टोली घटनास्थलमा पुगिसकेको छ।

तातोपानी गाउँपालिका वडा नं ७ जुम्लाका स्थानीय भेडापालक कृषक टेकराज रावतले आफूसहित आठ जना कृषकका भेडा चरिरहेको अवस्थामा माथिबाट ठूलो पहिरो खसेर पुरेको बताए।

उक्त गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तिलक रावतले पहिरोले धेरै भेडा मरेको भन्ने खबर आए पनि क्षतिको यकिन विवरण आउन समय लाग्ने बताए।