बढ्दो चिसोमा महाेत्तरीका किसानलाई कामकै चटारो

खेतीपाती लगाउँने र थन्क्याउनेसँगै नजिकिँ‍दाे माघेसङ्क्रान्ती पर्वकाे समेत तयारी गर्नुपर्ने भएकाले किसानलाई भ्याई नभ्याई छ।

महाेत्तरी– महोत्तरीसहित तराईमा चिसाे अत्यधिक बढेकाे छ। यहाँका किसान चिसाेकाबीच कामको चटारोमा छन्। 

अहिले गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार पुर्‍याउने र उखुक्रसिङको समय भएकाले खेतीपातीको काममा भ्याइ नभ्याइ छ। तरकारी खेतीका लागि खनजोतसमेत यसैबेला गर्नुपर्ने भएपछि किसानलाई एकपछि अर्को कामको चटारोले छोपेको हो। 

समय घर्कंदा बित्ने यी कामसँगै आउनै लागेको तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको जोहोमा पनि लाग्नुपर्ने बाध्यता रहेकाे भङ्गाहा-४ का अरुण गिरीले बताए। “खेतीपातीको कामलाई जाडो र गर्मीले छुट दिँदैन, समयमै गर्न परिहाल्छ, असरल्ल काम छ”, गिरी भनत्छन्, “गोभी टिपेर आजै बजार लगिएन भने भोलिसम्म फक्रेर कक्रक्क पर्छ, चिसोले गाह्रो बनाएको छ।”

उखु काट्ने, मुठा पार्ने र ट्याक्टरमा लोड गर्ने काम पनि यतिबेलै हुने उनले सुनाए। प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारोले पनि छोपेको छ। चिउरा/मुरी बनाउने, धान उसिन्ने, कुट्ने काम भइरहेकाे छ। तिल खेती गरेका किसान तिल झाँट्ने, निफन्ने काममा व्यस्त देखिन्छन्।

पर्वमा चिउरा, मुरी र तिलका ‘लाई’ (लड्डु) बनाउन चाहिने सख्खरको जोहोका लागि कतिपय किसान उखु पेलेर सक्खर पकाउन थालेका छन्। यी सामग्रीले अहिले राम्रो मूल्य पाउने भएपछि किसान जाडो नभनी काममा जुटेका हुन् । मिथिलामा माघ सङ्क्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ । “पर्वले छोपी सक्यो, खेतीपातीका काम असरल्ल छन्, १० दिनपछि सखरखण्ड, सुठुनी, पिँडालु र तरुल खन्ने काम शुरू हुन्छ”, रामनगर बस्तीकै ४५ वर्षीय चन्देश्वर राय दनुवारले भने, “अहिले बजार नपुर्‍याए सङ्क्रान्तिपछि तिलको भाउ घट्छ।” 

मिथिलामा तिलासक्रायत पर्वमा अलुवा, तरुल र पिँडालुजस्ता कन्दमूल उसिनेर खाने परम्पराले सङ्क्रान्तिअघि यी उत्पादनले राम्रो बजार पाउने गरेका छन्। एक कट्ठामा लगाएको अलुवाबाट सङ्क्रान्तिअघि बजार पुर्‍याउनसके १० हजार हाराहारी आम्दानी गर्न सकिने दनुवारको भनाइ छ। पुस चौथो साता लागेपछि कन्दमूल खन्ने र बजार लैजान थाल्ने दनुवारले बताए।

पर्वमा सख्खरको खुँदोमा मिसाएर बनाइने तिल, चिउरा, मुरी र जुनेलोको लाई (लड्डु) खाने चलन छ।  त्यसैगरी गोभी, भन्टा, हरियो केरा, आलु, परवल र लौकीको तरुवा खाने चलन छ। पर्वअघि नै यी फसल बिक्री गर्नुपर्ने र नियमित खेतीपातीका कामले फुर्सद नभएको बलवा नगरपालिका–१० धमौराका वासुदेव पासवानले सुनाए। 

“अहिले जाँगर नचलाए आम्दानी हुँदैन”, उनले भने, “उखुबाट हुने आम्दानीले वर्षभर पुग्ने अन्न जोहो गर्नुपर्छ।” मिथिलामा सबै जातजाति र समुदायले तिलासक्रायत पर्व मन खोलेर मनाउने गर्छन् । थारू समुदायको त यो मुख्य पर्व नै हुँदा एक महिना पहिलेदेखि नै तयारी थालिन्छ।

थारू समुदायमा पर्वविशेषमा मासु अनिवार्य परिकारमा पर्ने हुँदा यसको जोहो गर्न केही पहिलेदेखि नै व्यस्तता बढ्ने गरेको छ। तिलासक्रायत पर्वपछि यसको कोसेली पठाउने चलन छ।