एआई र हरित विकासमा सर्बियाको ऐतिहासिक लगानी

व्यापक एआई विकास ढाँचा स्थापना गर्ने दक्षिणपूर्वी युरोपको पहिलो देशको रूपमा, सर्बियाले आफूलाई क्षेत्रीय नेताको रूपमा स्थापित गरेको छ।

गत डिसेम्बरमा सर्बियामा आयोजित एआई सम्बन्धी शिखर सम्मेलनका क्रममा गरिएको एक प्यानल छलफल।

काठमाडाैँ– सर्बिया सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) र हरित प्रविधिमा आधारित अनुसन्धान कार्यलाई प्रवर्द्धन गर्न दुई वटा नयाँ अनुदान कार्यक्रमको घोषणा गरेको छ, जसअन्तर्गत ११ करोड अमेरिकी डलरभन्दा बढी बराबरको सहयोग प्रदान गरिनेछ।

युरोपेली बाल्कन देश सर्बियाको विज्ञान कोषका निर्देशक नेनाद फिलिपोभिचका अनुसार ‘कृत्रिम बुद्धिमत्ता अनुसन्धान परियोजनाहरूका लागि कार्यक्रम’ अन्तर्गत नौ करोड ८४ लाख अमेरिकी डलर बराबरको रकम विनियोजन गरिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। उक्त कार्यक्रम दुई वर्षको अवधिमा सञ्चालन हुनेछ र यस अन्तर्गत स्वास्थ्य सेवा, जैव प्रविधि, शिक्षा, कृषि तथा सूचना सुरक्षासम्बन्धी विषयवस्तुमा केन्द्रित भई झन्डै २५ देखि ३० परियोजनालाई सहयोग पुर्‍याइनेछ। यस कार्यक्रमलाई युरोपेली संघ र विश्व बैंकको सहकार्यमा अगाडि बढाइने छ।

यसैगरी, ‘हरित कार्यक्रम–विज्ञान तथा उद्योग सहकार्य’ को दोस्रो चरणका लागि एक करोड १७ लाख अमेरिकी डलर बराबरको रकम छुट्याइएको छ। राष्ट्रिय बजेटबाट सञ्चालित यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ, जसले वातावरणको संरक्षण, फोहोर तथा फोहोरपानी व्यवस्थापन, माटो तथा हावाको शुद्धता कायम राख्न र जैविक विविधताको संरक्षणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

सर्बियाकी वातावरण संरक्षण मन्त्री सारा पाव्कोभले सो कार्यक्रमहरूको शुरूआतप्रति खुसी व्यक्त गर्दै भनिन्, “म यो हरित कार्यक्रमबाट वातावरणीय रूपान्तरणका लागि अत्यावश्यक नवीन समाधानहरू प्राप्त हुने अपेक्षा राख्छु, जसले व्यवहारमा आधारित महत्त्वपूर्ण परिणामहरू दिन सक्नेछ। यी प्रयासहरू हामीलाई स्वच्छ र दिगो भविष्यतर्फ अघि बढाउन मद्दत गर्नेछन्।”

विज्ञान, प्राविधिक विकास र नवप्रवर्तन मन्त्रालयको प्रस्तावमा सर्बियाको सरकारले २०२५–२०३० अवधिको लागि कृत्रिम बुद्धिमत्ताको विकासको लागि रणनीति अपनाएको छ। यो सर्बियामा कृत्रिम बुद्धिमत्ताको द्रुत विकासमा आधारित छ। सर्बिया सरकारको वेबसाइटमा उल्लेख भएअनुसार व्यापक एआई विकास ढाँचा स्थापना गर्ने दक्षिणपूर्वी युरोपको पहिलो देशको रूपमा, सर्बियाले आफूलाई क्षेत्रीय नेताको रूपमा स्थापित गरेको छ।

विश्वव्यापीरूपमा एआई बजारको मूल्य १८४ अर्ब डलरभन्दा बढी हुने विभिन्न अध्ययनले देखाएको छ। २०३० को अन्त्यसम्ममा ८२६ अर्ब डलरको वृद्धि हुने अनुमान गरिएको छ। युरोपेली आयोगका अनुसार, एआईले हालका १४५ रोजगारीहरूको स्वचालनमा निर्णायक भूमिका खेल्नेछ, जबकि ३२५ पेशामा उल्लेखनीय परिवर्तन हुने अपेक्षा गरिएको छ।