बागलुङको ३०० रोपनी सामुदायिक वनमा निगुरो र अम्रिसोखेती

काठेखोला गाउँपालिका–७ स्थित तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती शुरू गरिएको छ। अन्य सामुदायिक वनमा पनि खेती बिस्तार गर्ने योजना छ।

ढोरपाटन– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निगुरो र अम्रिसोखेती गरिएको छ। वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्रमा निगुरो र अम्रिसो लगाएका हुन्।

यहाँका तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती शुरू गरिएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। अन्य सामुदायिक वनमा पनि बिस्तारै खेती गर्दै जाने उनको योजना छ। तीन वर्षअघि १२ रोपनीमा शुरू गरेको यो खेती हाल ३०० रोपनीमा फैलाउन सफल भइएको अध्यक्ष लामिछानेले बताए। 

यसका लागि वडा कार्यालय र स्थानीयको जनश्रमदान गरी हालसम्म ३ लाख रुपैयाँ लगानी भएको छ। हाल गाउँमै निगुरो र अम्रिसोको बिरुवा उत्पादन हुन थालेकाले बिरुवामा धेरै खर्च नभएको हो। रेश गाउँमा पहिले निगुरो र अम्रिसो नपाइए पनि हाल हरेक किसानले बारीको कान्लामा समेत यसको खेती गर्न थालेका वडाध्यक्ष लामिछानेले बताए। 

“पहिले गाउँमा मान्छे धेरै हुन्थे, पशुचौपाया पनि धेरै पाल्थे, हाल बसाइँसराइले गाउँमा मान्छे कम छन्, पहिलेको जस्तो वस्तुभाउ पाल्दैनन्, त्यसले गर्दा वनमा झाडी पलायो,” उनले भने, “त्यसैले स्थानीयसँग सहकार्य गरेर झाडी फाँडेर निगुरो र अम्रिसो लगाएका छौँ, अरू बिरुवा पनि फाटफुट लगाएका छौँ। वनलाई पनि अब आम्दानीसँग जोडौँ भन्ने हिसाबले यो काम शुरू गरेका हौँ।”

स्थानीय धनबहादुर जिसी हाल लगाइएको निगुरो र अम्रिसोको उत्पादन बढेमा सामुदायिक वनबाट आम्दानी लिन सकिने बताउँछन्। तरकारीका रूपमा प्रयोग हुने निगुरो र अम्रिसोको माग र मूल्य पनि राम्रो भएकाले ठूला सहरमा निर्यात गर्न पनि सकिने उनको भनाइ छ। झाडी फाँडेर साना बिरुवा लगाएपछि वन्यजन्तुको आक्रमण हुने जोखिम पनि कम भएको जिसीको विश्वास छ। 

काठेखोला–७ की उजेली शर्माले गाउँकै सामुदायिक वनबाट बिरुवा संकलन गरी खेती बिस्तार गरेको सुनाए। “पहिले निगुरो खोज्नका लागि धेरै टाढाको जंगलमा जाने गरेका थियौँ, हाल नजिकैको सामुदायिक वनमा पाउन थालेको छ। काम नलाग्ने झाडीको ठाउँमा काम लाग्ने बस्तु रोपेपछि हामी सबै उत्साहित छौँ। उत्पादन बढी हुँदै गएपछि बिक्री गरेर यहीँबाट जीविकोपार्जन गर्न सकिने आशा छ,” उनले भने।