मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा

घरेलु टोली मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। 

काठमाडौँ– मलेसियालाई ९ विकेटले हराउँदै नेपाल एसीसी मेन्स यू१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ। 

क्वालालम्पुरस्थित सेलेंगर टर्फ क्लबमा घरेलु टोली मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। 

नेपालका परिमार्जन यादवले अविजित ५९ रन बनाए। उनले ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए। सीवान्श बजगाईंले २३ रन बनाए। 

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको घरेलु टोली ४३.१ ओभरमा ९० रन बनाउँदै अलआउट भएको थियो। 

मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन जोडे। नेपालका अभय यादवले ४ तथा सुभम खनालले ३ विकेट लिए। विपिन शर्मा र सचिन भट्टका नाममा १ विकेट रह्यो। 

नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल हङकङ र सिंगापुरबीच जारी छ। फाइनल असार २१ मा हुनेछ।