डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

गैरकानूनी रूपमा डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई सीआईबीले पक्राउ गरेको छ।

काठमाडौँ– गैरकानूनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ६ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घर भाडामा लिएर ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’ दर्ता गरी गैरकानूनी रूपमा कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

सो कम्पनीको शाखाका रूपमा काठमाडौँ महानगरपालिका–१३ चागलस्थित एक घर भाडामा लिई विभिन्न नेपाली युवतीलाई प्रलोभनमा पारी डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गरिरहेको अवस्थामा ५२ जना पक्राउ परेका केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ‍। उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ, सात थान ल्यापटप र ५४ थान मोबाइलसमेत बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरी अन्य ४६ जनामाथि थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।