धनगढी–१४ की भावना पुलामी मगरले व्यक्तिगत लगानीमा 'सानीडाँडा फूलबारी दुनाटपरी उद्योग' सञ्चालन गरी मासिक २५ हजार रुपैयाँ बचत गर्दै स्वरोजगार बन्नुका साथै अन्य महिलालाई पनि तालिम र रोजगारी दिइरहेकी छन्।
कैलाली– धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी छन्। ६ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी आठ लाख रुपैयाँ लगानीमा उनले व्यवसाय गर्दै आएकी हुन्।
शुरूमा सामूहिक लगानीमा उद्योग सञ्चालन गरे पनि अहिले व्यक्तिगत लगानीमा व्यवसाय गरिरहेको मगरले बताइन्। “अनुदानसहित एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा उद्योग सञ्चालन गरेका थियौँ। पछि काम सिक्दै गएँ, अहिले एक्लैले व्यवसाय गर्दै आएकी छु,” उनले भनिन्।
आर्थिक स्थितिका कारण राहदानी बनाई विदेश जान तयार भएकी उद्यमी मगरले स्थानीयस्तरमा स्वरोजगार बन्ने योजनासँगै वैदेशिक रोजगारको मोह त्यागेकी थिइन्। अहिले उनी आफू स्वरोजगार बन्नुका साथै स्थानीय केही व्यक्तिलाई रोजगार दिएकी छन्।
मगरका अनुसार उद्योगबाट मासिक एक लाख रुपैयाँ बराबरको कारोबार हुन्छ। कामदारलाई ज्यालादारी र परिवारको खर्च कटाएर मासिक २५ हजार रुपैयाँ बचत हुने गरेको उहाँले जानकारी दिइन्।
चार जनाको परिवारको सबै खर्चसहित छोराछोरीको शिक्षादीक्षा यहीँ व्यवसायले सञ्चालन भइरहेको उनले बताइन्। “शुरूमा आर्थिक स्थिति कमजोर थियो, दैनिकी चलाउन समस्या भएपछि विदेश जाने सोचले राहदानी बनाएकी थिएँ। अहिले पनि श्रीमान् वैदेशिक रोजगारी सिलसिलामा साउदीमा हुनुहुन्छ। यही व्यवसायबाट दैनिकीमा परिवर्तन आएको छ,” उनले भनिन्।
दुनाटपरी उद्योग सञ्चालनका साथै महिलालाई तालिम पनि दिने गरेको मगरले उल्लेख गरिन्। वडाबाट आएको क्षमता विकास कार्यक्रममार्फत स्थानीय महिलालाई आफूले तालिम दिएको उनले बताइन्। धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० जनाभन्दा बढी महिलालाई दुनाटपरीसम्बन्धी तालिम दिएको महिला उद्यमी मगरले जानकारी दिइन्।
उद्योगबाट दैनिक तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको जनाउँदै उनले टपरी चार र दुना एकमा बिक्री हुने बताइन्। आफूले उत्पादन गरेका दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया साथै पोखरासम्म पुग्ने उनले उल्लेख गरिन्।
सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको मगरको भनाइ छ। “आफूले उत्पादन गरेको दुनाटपरी अन्य व्यवसायीले ‘प्याकिङ’ गरी आफ्नै कम्पनीको लोगो लगाएर महँगोमा बिक्री गर्दछ,” उनले भनिन्, “प्याकिङ गर्ने उपकरण आफूसँग भएको भए आफ्नै कम्पनीको छाप लगाएर अझ आम्दानीका साथै रोजगारी बढाउने सकिने थियो।”
मगरले सुदूरपश्चिम प्रदेशबाट आफू उत्कृष्ट महिला उद्यमीका रूपमा छनोटमा भई गत चैतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएको बताइन्। उद्योगका लागि स्थानीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएमा प्याकिङ गर्ने उपकरण खरिद गर्नुका साथै व्यवसायलाई विस्तार गर्ने योजना रहेको उनले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
