डोल्पामा काल्पनिक विद्यालय खडा गरी साढे ७ लाख भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

डोल्पामा काल्पनिक विद्यालयको नाममा साढे ७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख, इन्जिनियर रविचन्द्र पजियारसहित ४ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा काल्पनिक विद्यालय खडा गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय, डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएका अन्य प्रतिवादीमा लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढा रहेका छन्। आयोगले उनीहरूविरुद्ध सात लाख ६० हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिबाना र कैद सजायको मागदाबी लिएको छ।

अख्तियारका अनुसार, डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ (हाल ठूलीभेरी नगरपालिका–४) स्थित तिप्लामा विद्यालय ‘दुर्गा प्रावि’को नाममा भवन निर्माणका लागि सात लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको थियो। तर, अख्तियारको टोलीले स्थलगत अनुगमन गर्दा सो स्थानमा कुनै पनि विद्यालय नै नभएको पुष्टि भएको थियो।

“काल्पनिक उपभोक्ता समिति गठन गरेर जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ता छानासहितको दुईकोठे भवन निर्माण गरेको भनी झूट्टा तथा नक्कली कागजात तयार पारी चेकमार्फत सात लाख ६० हजार रुपैयाँ भुक्तानी लिएको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न प्रतिवादीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ,” आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।