महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन्। उनलाई राष्ट्रपतिले आजै शपथ गराउने कार्यक्रम छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन्।

सरकारकाे कानूनी सल्लाहकारका रूपमा रहने पदमा पाेखरेल सिफारिस भएका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ। पोखरेललाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउने तयारी छ।

प्युठानको झिम्रुकमा २०३० चैत २९ गते जन्मिएका पोखरेल २५ वर्षदेखि वकालत पेशामा छन्। उनले दिल्ली विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन्। त्यस्तै नेदरल्याण्डको इन्स्टिट्युट अफ सोसल स्टडिजबाट राजनीतिक अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका पाेखरेल यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीकाे कानूनी सल्लाहकारसमेत थीए। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे प्रतिनिधिसभा विघटनका विपक्षमा बहस गरेका थिए।