फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्लाजस्ता जलपन्छी बर्सेनि घट्दै गएको चराको अध्ययनमा जुटेका विष्णु अधिकारी बताउँछन्।

पाल्पा– केही वर्षअघिसम्म बर्खा लागेपछि यहाँका फाँट र सिमसारमा देखिने बकुल्ला हिजोआज देखिन छाडेका छन्। यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र ससाना खोला किनारामा देखिने सेतो बकुल्ला देखिन छाडेका हुन्।

खोला तथा सिमसार क्षेत्रका खेतमा पाइने माछालाई प्रमुख आहारा बनाउँदै आएका बकुल्ला सिमसार मासिँदै गएपछि देखिन छाडेका स्थानीय बताउँछन्। अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायतले सिमसार क्षेत्र मासिँदै गएका छन्।

वरपीपल, समी, सिमलजस्ता अग्ला रूखहरूमा सेताम्ये देखिने बकुल्ला एकाएक हराउँदै गएको दमकडाका प्रकाश नेपाल बताउँछन्। “जबजब फाँटहरूमा धान रोप्ने समय हुन्छ तब बकुल्ला खेतका छेउछाउमा सेताम्मै देखिन्थे, तिनी धान नकाट्दासम खेतमै भेटिन्थे तर हिजो आज छैनन्,” उनी भन्छन्। बकुल्लाले पानीभित्र माछा तथा चिस्यानमा बस्ने भ्यागुता, गंगटा, सानासाना सर्प सिकार गर्छन्।

हिजोआज खोला र सिमसार मासिँदै जाँदा तिनी पनि हराउँदै गएको उनको भनाइ छ। “पहिले–पहिले यहाँका सिमलका रूख कुनै खाली हुँदैन थिए। सबैमा सेताम्य बास बसेको देखिन्थ्यो। यी एकाएक हराए,” उनले भने, “अन्न बालीमा विषादीको प्रयोगका कारण माछा पाउनै कठिन भयो। आहारामा कमी आएकोले कमी आउँदै गएको हो।”

सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्ला जस्ता जलपन्छी बर्सेनि घट्दै गएको चराको अध्ययनमा जुटेका विष्णु अधिकारीले बताए। खोला र सिमसार क्षेत्रको विनाशले माछाहरू मर्दै जाँदा आहारमा कमी आएकाले जलपन्छी बर्सेनि घट्दै गएको उनको भनाइ छ।

“वासस्थान विनाश र आहार नहुनु नै बकुल्ला घट्नुको मुख्य कारण हो,” उनले भने। संरक्षणको पहल भएन भने अबको केही वर्षमा जलपन्छीहरू पूर्णरूपमा लोप हुने उनले बताए।