धनुषामा तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाइ फायर समेत गरेको सहप्रवक्ता थापाले बताए।

काठमाडाैँ– धनुषामा तस्कर समूहसँगको झडपमा परेर ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। विदेह नगरपालिका–२ स्थित गोबराही इलाकामा बिहीबार तस्कर समूहसँग झडप भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सैलेन्द्र थापाले बताए।

सोही इलाकामा अवैध सामानहरू लुकाइ छिपाइ राखिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा एउटा मोटरसाइकल फेला पारेको थियो। साथै नजिकै रहेको टहरोमा समेत खोजतलास गर्ने क्रममा अन्दाजी सय–डेढ सय जनाको संख्यामा लुकीछिपी बसेका ती व्यक्तिहरूले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका बताए।

सोही क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका र स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाइ फायर समेत गरेको सहप्रवक्ता थापाले बताए। उनका अनुसार घाइते भएकाहरूमध्ये ३ जना सशस्त्र प्रहरी कर्मचारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र ३ जनाको अवस्था सामान्य रहेको छ।