गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा पुस २२ गते सुनुवाइ हुने

गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादमा दर्ता भएको मुद्दा सुनुवाइका लागि सर्वाेच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ।

काठमाडाैँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दा सुनुवाइका लागि सर्वाेच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ।

पुस ६ गते संवैधानिक इजलासले रिटमाथिको सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे थियाे। शपथ लिँदैमा कारबाही नरोकिने उल्लेख गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

आदेशको कपीमा निवेदकले माग गरेको अन्तरिम आदेशको सम्बन्धमा दुवै पक्षबीच छलफलका लागि बोलाएको उल्लेख छ। इजलासको आदेशसँगै लामिछानेलाई सांसद पदको शपथ लिने बाटो खुलेको थियो। पुस ११ गते लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्रीकाे समेत शपथ लिइसकेका छन्।

यो पनि : आफैँ गृहमन्त्री भएपछि के होला रवि लामिछानेको नागरिकता र राहदानी दुरुपयोगको मुद्दा?

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। युवराज बसौला र युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरी दोहोरो राहदानी प्रयोग गरेको र उनकाे नेपाली नागरिकता रद्द भइसकेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद, साधारण सदस्यता तथा निर्वाचनका प्रक्रिया बदर गर्न माग गरेका थिए।

साथै उनीहरूले प्रतिनिधिसभा सदस्यकाे शपथ लिनसमेत राेक्न आदेश माग गरेका थिए।