मुगुमा पहिरोमा पुरिएर महिलाको मृत्यु

खत्याड गाउँपालिका–५, तारापानीमा सडकको नाला निर्माणको काम गरिरहेकी एक महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ।

मुगु– खत्याड गाउँपालिका–५, तारापानीमा सडकको नाला निर्माणको काम गरिरहेकी एक महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ।

खत्याड गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख कुलबहादुर शाहीका अनुसार, शुक्रबार बिहान करिब १०ः५० बजे तारापानी सडकको नालाका लागि गिट्टी कुट्दै गरेकी सोही वडा, कोटीला गाउँकी ३७ वर्षीया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले ज्यान लिएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुले घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जनाएको छ।

पहिरोमा परी ज्यान गुमाएकी बुढा खत्याड गाउँपालिकाको आर्थिक सहयोग र भिष्मराज कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको १२ नम्बर ठेक्काको काममा संलग्न थिइन्। भिष्मराज कन्ट्रक्सनका प्रोप्राइटर लोकराज दाहालले गिट्टी कुटिरहेकै बेला पहिरो खसेर घटना भएको पुष्टि गरेका छन्।