यो साता उकालोमा अमेरिका सपनाले निम्त्याएको बसाइँसराइ, ‘मेडिकल टुरिजम’ साकार पार्ने नेपालका आँखा अस्पताल, सुन व्यवसायीलाई उपभोक्ताको चिन्ता कि पारदर्शी हुनुपर्ने डर? लगायतका खबर चर्चामा रहे।
यो साता सर्वोच्च अदालतको एउटा फैसलाले देशको राजनीतिक माहौल तताएको छ। तत्कालीन ओली सरकारका पालामा अध्यादेशमार्फत नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिट सर्वोच्चको संवैधानिक इजलासले बुधबार राति खारेज गरिदिएको छ।
करिब चार वर्षदेखि विचाराधीन रहेको यस मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले बहुमतका आधारमा गरेको यो फैसलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित अन्य संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू यथावत् रहने भएका छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदी सम्मिलित बुधबार बसेको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो। यद्यपि, यो फैसलामा संवैधानिक इजलासका पाँचमध्ये तीन न्यायाधीशले बहुमतबाट रिट खारेज गर्ने निर्णय सुनाएका छन् भने दुई न्यायाधीशले फरक राय राखेका छन्।
रिट खारेज गर्ने पक्षमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश मल्ल, न्यायाधीशद्वय डा. शर्मा र डा. चुडाल रहेका छन्। प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले भने फरक राय व्यक्त गरेका छन्।
न्यायाधीश शर्मा र चुडालले रिट खारेज गर्ने निर्णय गरेका छन्। न्यायाधीश मल्लले भने संसदीय सुनुवाइ समितिलाई परमादेश जारी गर्नुपर्ने रायसहित रिट खारेजको निर्णय गरेकी छन्। यसैबीच, प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले २०७७ मंसिरमा भएको अध्यादेशको हकमा रिट जारी र त्यसपछिको अध्यादेशको हकमा भने खारेजीको निर्णय गरेका छन्।
बुधबार मध्यरातमा बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतले नै यो निर्णय सुनाएका थिए। संवैधानिक निकायका ५२ मध्ये ३२ पदाधिकारीको नियुक्ति बदर हुने फरक राय लेखेका प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले उही अध्यादेशबाट भएको २० पदाधिकारी नियुक्तिलाई भने किन संविधानसम्मत ठहर्याए? यससम्बन्धी बीपी अनमोलको विस्तृत रिपोर्ट, मध्यरातको फैसला: उही अध्यादेश, तर दुई चरणको नियुक्तिमा दुईथरी ठहर
यो पनि– संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिट सर्वोच्चबाट खारेज, नियुक्ति सदर
त्यस्तै, उकालोमा प्रकाशित अर्को एक रिपोर्टले नेपालमा बिरामीको ज्यान बचाउन चढाइने रगतबाटै संक्रामक रोग सर्नेदेखि ज्यानै जाने जोखिमबारे खुलाएको छ। नेपालमा हालसम्म रगतको वितरण मुख्यतया नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्रले धानिरहेको छ। २०७१ सालयता केही निजी तथा सरकारी अस्पतालले आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरे पनि रगतको माग धान्न सकेका छैनन्। विज्ञहरूका अनुसार, देशभरका १०० भन्दा बढी रेडक्रसका केन्द्रहरूले ९० प्रतिशतभन्दा बढी रगतको माग पूरा गर्दै आएका छन्।
तर, तिनै रेडक्रसको ब्लड बैंकबाट वितरित रगतका कारण स्वास्थ्यमा गम्भीर असर परेको भन्दै समाज कल्याण परिषद् र महिला तथा बालबालिका मन्त्रालयमा कयौँ उजुरीहरू परेका थिए। यसपछि परिषद्ले २०८१ वैशाख १६ गते सञ्जयकुमार साहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रक्तसञ्चार ब्युरो प्रमुख डा. रेखा मानन्धर र रक्तसञ्चारविज्ञ डा. विपिन नेपाल सदस्यका रूपमा रहेका थिए।
समितिले २०८१ असार १७ गते महिला तथा बालबालिका मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई आफ्नो प्रतिवेदन बुझायो। तर, स्वास्थ्यसम्बन्धी अत्यन्तै संवेदनशील विषय भएकाले सो प्रतिवेदन सार्वजनिक गरिएन।
प्रतिवेदनमा उल्लेख भएअनुसार, छानबिन समितिले रेडक्रसको रक्तसञ्चार केन्द्रमा गुणस्तर मापदण्डका २२ वटा सूचकहरूको परीक्षण गरेको थियो। तीमध्ये ११ वटाभन्दा बढी सूचकहरू पूरा नभएको पाइएको छ। बाँकी ५० प्रतिशत मापदण्डका सूचकहरू पनि औसतभन्दा बढी जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ। यसको अर्थ, देशका १०० भन्दा बढी रेडक्रस रक्तसञ्चार केन्द्रबाट वितरित रगतले नै बिरामीलाई थप जोखिममा पारिरहेको छ। विस्तृतमा पढ्नुहोस् सगर बुढाथोकीको रिपोर्ट: रगतमा रेडक्रसको लापरबाही: एचआईभी सर्नेदेखि ज्यानै जानेसम्मको जोखिम
साताका प्रमुख हेडलाइन:
फलोअप
सरकारी जग्गा कब्जा गरेर बसाइएको बस्तीमा सरकारकै खानेपानी आयोजना, धमाधम खन्याइँदै बजेट
टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गा कब्जा गरी बसाइएका बस्तीलाई वैधता दिनेगरी खानेपानी आयोजना निर्माण गर्न संघीय सरकारले नै बजेट खन्याइरहेको छ।
देश-समाज
रगतमा रेडक्रसको लापरबाही: एचआईभी सर्नेदेखि ज्यानै जानेसम्मको जोखिम
रक्तसञ्चार केन्द्रले रगत संकलनदेखि वितरणसम्मका मापदण्ड पालना नगर्दा एचआईभीजस्ता संक्रामक रोग सर्ने, स्वास्थ्यमा समस्या आउने तथा ज्यानै जाने जोखिम बढेको सरकारी प्रतिवेदनले नै खुलाएको छ।
‘मेडिकल टुरिजम’ साकार पार्ने नेपालका आँखा अस्पतालहरू
नेपालमा आँखा उपचार करिब पाँच दशकअघि वीर अस्पतालबाट शुरू भएको हो। हाल देशभर फैलिएका ‘डेडिकेटेड’ अस्पतालमा आँखाको शल्यक्रिया गर्ने नेपालीभन्दा विदेशी धेरै छन्। आँखा उपचारमा लामो फड्को कसरी सम्भव भयो?
सर्पदंशका बिरामीः अस्पताल टाढा, मृत्यु नजिकै
बर्सेनि हात्ती, गैँडालगायत जनावरको आक्रमणबाट भन्दा धेरै मानिसको मृत्यु सर्पदंशबाट हुन्छ। तर चिकित्सक नै उपचारमा अभ्यस्त नहुँदा र सर्पदंश केन्द्र पुर्याउन ढिला हुँदा धेरै बिरामीको ज्यान बाटोमै जान्छ।
फरेन्सिक जाँचले पुष्टि गरेका प्रमाणसमेत नकार्दै खाणको ‘साक्षी बकपत्र’
बालकृष्ण खाणले आफ्ना सहायक नरेन्द्र केसीमार्फत १ करोड रुपैयाँ कांग्रेस नेता आङटावा शेर्पालाई पठाएको र त्यसबाट ३० लाख रुपैयाँ राजु भण्डारीलाई भरपाई गरिदिएको कागजसमेत प्रहरी मिसिलमा राखिएको छ।
अमेरिका सपनाले निम्त्याएको बसाइँसराइः रुकुमबाट धमाधम शहरतिर
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता तल्लो बाटो अवैधरूपमा अमेरिका जाने क्रम कम भएको छ, तर अमेरिका गएका परिवारले गाउँ छाड्ने क्रम रोकिएको छैन।
मोटरसाइकलमा ढुवानी: चालकले नै नबुझे कसले बुझ्ने?
अग्ला प्लाइउड, सिसा, झ्यालका चौकोस, खसीबोका, सुँगुर, कुर्सीका थाक, ठूला सुटकेस बोकेका यात्रुलाई पछाडि राखेर मोटरसाइकल कुदाउँदा दुर्घटनाको जोखिम बढेको छ।
विचार–टिप्पणी
हराएको ‘कुलिङ पिरियड’, छायामा अतिरिक्त सचिव
अतिरिक्त सचिवको पद सिर्जनामा खासै विवाद छैन। तर त्यो पदको कार्यकाल नै नतोक्नेचाहिँ, त्यसो गर्दा उच्च लाभ पाउने सहसचिवहरूको ‘घरदैलो अभियान’का कारण सम्भव भएको हो।
एसईई: शिक्षाको अवधारणामै गम्भीर समीक्षा जरुरी
बिहानै एक भारी घाँस या एक डोको दाउरा बटुलेर आफै खाना तयार गरी हतार–हतार घन्टौँ परको स्कुल भ्याउने विद्यार्थीले प्राप्त गर्ने उपलब्धिलाई अन्य विद्यार्थीको उपलब्धिसँग तुलना गर्नु कत्तिको न्यायसंगत छ?
‘सिक्किममा दार्जिलिङ विलय’को प्रलय
सन् २०१५ मा बीजेपी सरकारकै पालामा भारतका १११ वटा गाउँ बांग्लादेशमा र बांग्लादेशका ५१ गाउँ भारतमा साटफेर गरिएको थियो।
बुर्किनाफासोका ट्राओरे र नेपाली कम्युनिस्ट आन्दोलन
अरनिको राजमार्ग बनाउन आएका चिनियाँहरूले रेडबुक र 'चीन सचित्र' पुस्तक बाँड्थे, त्यही बेला राजा महेन्द्रले भारतीय सरकारको सरोकारलाई लिएर भनेका थिए– 'कम्युनिस्ट गाडी चढेर आउँदैनन्।'
अर्थबजार
सुन व्यवसायीलाई उपभोक्ताको चिन्ता कि पारदर्शी हुनुपर्ने डर?
सुनमा विलासिता शुल्क लागू भए उपभोक्ता नै मारमा पर्ने व्यवसायी बताउँछन्। तर नयाँ व्यवस्थाले सुन कारोबारमा पारदर्शिता हुने भएपछि व्यवसायी डराएको सरकारका अधिकारीको दाबी छ।
प्रविधि
मृत्युपछि के हुन्छ हाम्रो सामाजिक सञ्जाल अकाउन्ट?
मृत्युपछि सामाजिक सञ्जाल खातालाई स्मरणीय राख्ने वा मेटाउने विकल्पहरू भए पनि नेपालमा यसको प्रयोग कम देखिन्छ। किन आवश्यक छ त डिजिटल व्यवस्थापन?
खेल
एएफसी एशियन कप छनोटमा श्रीलंकाविरुद्ध नेपाल ८–० गोलले विजयी
एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकालाई ८–० को फराकिलो गोलअन्तरले हराएको छ। नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो। नेपालले शनिबार उज्वेकिस्तानसँग खेल्दैछ।
एसीसी मेन्स यू१६ इस्ट जोन कप: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा
मलेसियालाई ९ विकेटले हराउँदै नेपाल एसीसी मेन्स यू१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ। फाइनल असार २१ मा हुनेछ। नेपालले फाइनलमा सिंगापुरसँग खेल्नेछ।
विश्व
कार दुर्घटनामा लिभरपुलका फरवार्ड डियोगो जोटाको निधन
कार दुर्घटनामा परेर लिभरपुल फुटबल क्लबका पोर्चुगिज फरवार्ड २८ वर्षीय डियोगो जोटाको निधन भएको छ। उत्तरी स्पेनको एक सडकमा उनी सवार सुपर कार दुर्घटनाग्रस्त हुँदा बिहीबार उनको मृत्यु भएको हो। उनी आफ्ना भाइ आन्द्रेसँगै कारमा यात्रा गरिरहेका थिए, दुर्घटनामा २६ वर्षका आन्द्रेको पनि मृत्यु भएको बताइएको छ।
अफगानिस्तानको तालिबान शासनलाई मान्यता दिने पहिलो देश बन्यो रुस
सन २०२१ मा सत्तामा फर्किएदेखि मानव अधिकार उल्लंघन बढ्दै गएको रिपोर्टहरूको बाबजुद तालिबानले अन्तर्राष्ट्रिय मान्यता र लगानी खोजिरहेको छ। अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने रुस पहिलो देश बनेको छ। अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले यसलाई ‘साहसी’ निर्णयको रूपमा वर्णन गरेका बीबीसीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
