न्युयोर्कजस्तो शहरमा सर्वसाधारणको भावना बोक्ने एक राजनीतिक ताराको उदयलाई दुवै पार्टीले स्वाभाविक रूपमा खतरा ठानेका छन्। मामदानीजस्तै नयाँ नेता देशभर उदाउन सक्छन् भन्नेमा डेमोक्रेटहरू नै चिन्तित छन्।
गत हप्ता, जुन २४ को दिन ऐतिहासिक रूपमा गर्मीको सेकाइमा परेको थियो न्युयोर्क। अहिलेसम्मकै बढी तापक्रम झेल्यो शहरले। तर यो चर्को गर्मीले मात्रै शहरका पुराना राजनीतिक शासक वर्ग, डेमोक्रेटिक पार्टीका संस्थापक वर्ग र तिनको प्रिय मेयरका उम्मेदवार एन्ड्रयू कोमोलाई पसिना छुटाउने कारण बनेको थिएन। एन्ड्रयू कोमोका पिता मारियो कोमोले सन् १९८३ देखि १९९४ सम्म न्युयोर्क राज्यको गभर्नरको रूपमा सेवा गरेका थिए। एन्ड्रयू स्वयंले पनि राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा हाउजिङ एन्ड अर्बन डेभलपमेन्टको सचिव र न्युयोर्कको महान्यायाधिवक्ताको रूपमा सेवा गरेर शक्तिशाली राजनीतिक करियर बनाएका थिए। आफ्ना पिताझैँ उनले सन् २०११ देखि २०२१ सम्म न्युयोर्कको गभर्नरको रूपमा सेवा गरे। ११ जना महिलाहरूबाट यौन उत्पीडनको आरोपको सामना गरेपछि सो पदबाट राजीनामा दिएका थिए।
एन्ड्रयू कोमोका लागि न्युयोर्क शहरको मेयर पदको प्राइमरी चुनाव जित्नु आउँदो नोभेम्बरको चुनावमा मेयर बन्दै शानदार राजनीतिक पुनरागमन गर्ने पहिलो कदम/अवसर थियो। र, अभियानको धेरैजसो समय 'भावी मेयर'कै रूपमा यिनले चर्चा पाए। उनको पुनरागमनका लागि डेमोक्रेटिक पार्टीले सहयोग गरेको थियो। न्युयोर्कका पूर्वमेयर र अर्बपति माइकल ब्लूमबर्गले मात्रै उनको अभियानमा ८ मिलियन डलरभन्दा बढी सहयोग गरे, जसका कारण उनको अभियानको लागि कुल २५ मिलियन डलरभन्दा बढी रकम जुट्यो। उनका पूर्वबोस अर्थात् पूर्वराष्ट्रपति बिल क्लिन्टनले पनि उनलाई साथ दिए। त्यस रापिलो दिन, बिहान ६ बजे शुरू भएर बेलुका ९ बजे मतदान प्रक्रिया बन्द भएको थियो। प्राइमरीको चुनावमा अहिलेसम्मकै धेरै संख्यामा मतदाता उपस्थित भए। राति १०:३० बजे सम्म, ६७ वर्षीय कोमोले हार स्वीकारे र ३३ वर्षीय जोहरान ममदानीलाई जितको बधाई दिए। यस घटनालाई आगामी दिनहरूमा राजनीतिक 'भूकम्प' को रूपमा वर्णन गरिनेछ। तर, त्यस भूकम्पको कम्पन न्युयोर्क शहरका सबै कुनामा र विशेष गरी शहरको नेपाली समुदायमा महिनौँयता बढिरहेको थियो।
ममदानीको अभियान सम्भवतः अमेरिकामा कुनै पनि राजनीतिक उम्मेदवारले नेपाली भोटर-बेसलाई आफ्नो अभियान योजनाको प्रस्ट हिस्सा बनाएको पहिलो घटना हो। 'ड्रम बीट्स' नामक संगठनले यसलाई सम्भव बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। अप्रिलमा, न्युयोर्कको क्वीन्स, सनीसाइडमा रहेको 'बाजेको सेकुवा' रेस्टुरेन्टको भुइँतलामा नेपालीहरूको विभिन्न समूहहरूको भेला भएको थियो। तर, अरू बेलाझैँ यस पटक कुनै कुनै नेपाली कार्यक्रमका लागि यो जमघट भइरहेको थिएन। विशेष रूपमा नेपाली समुदायका लागि जोहरान ममदानीलाई जिताउने उद्देश्यले आयोजित कार्यक्रम थियो यो। र, न्युयोर्क राज्य सभासद्को रूपमा दोस्रो कार्यकाल सम्हालिरहेकी पहिलो नेपाली मूलकी निर्वाचित प्रतिनिधि सरहाना श्रेष्ठ यसको मुख्य वक्ता थिइन्। दुई आप्रवासी मिलेनियल्सद्वारा नेतृत्व गरिएको कार्यक्रम थियो यो, जो दुवै न्युयोर्क राज्यका निर्वाचित प्रतिनिधि बनेका थिए।
यी दुई एसेम्ब्ली मेम्बरहरूको कथा उस्तै छ। २५ वर्षदेखि सत्तामा रहेका शक्तिशाली उम्मेदवारलाई सन् २०२२ मा, सरहाना श्रेष्ठले डेमोक्रेटिक प्राइमरीमा पराजित गरिन्। न्युयोर्क राज्यको १०३ औं जिल्लामा उनले चुनाव जितेकी थिइन्, जहाँ झन्डै कुनै नेपाली मतदाता थिएनन्। त्यही चुनावकै चक्रमा, जोहरान ममदानी पनि न्युयोर्कको क्वीन्सस्थित ३६औं जिल्लाबाट न्युयोर्क राज्य सभासदमा निर्वाचित भए। गत वर्ष, दुवै जना पुन: निर्वाचित भए। न्युयोर्क राज्यसभामा सँगै काम गर्ने क्रममा, उनीहरूले दिगो ऊर्जा र आवास अधिकारसम्बन्धी प्रमुख विधेयकहरूमा सहकार्य गरे। 'बिल्ड पब्लिक रिन्युबल्स, गुड कज इभिक्सनलगायत अन्य धेरै काम गरे। वास्तवमा, जोहरानले नै सरहानालाई सभासदमा उम्मेदवारी दिन मनाएका थिए, ताकि उनीहरूबीच सभामा गठबन्धन बनाउन सकियोस्।
बाजेको सेकुवाको भुइँतलामा, एसम्ब्ली मेम्बर सरहानाले दर्शकहरूलाई जोहरानले नेपालीहरूको ध्यानाकर्षण गरेको पहिलो क्षणको सम्झना गराइन्: सन् २०२१ मा ट्याक्सी चालक र मालिकहरूसँगै १५ दिनको भोक हडतालमा जोहरानको सहभागिता। सो हडताल ऋणीहरूको 'शिकारी अभ्यास'का कारण ट्याक्सी चालकहरू अत्यधिक ऋणमा डुब्नुपरेको समस्याको प्रतिक्रियास्वरूप थियो। यो मुद्दा यति गम्भीर भएको थियो कि केही ट्याक्सी चालकले आत्महत्यासमेत गरेका थिए। न्युयोर्कको ट्याक्सी चालक उद्यम नेपाली समुदायको आयस्रोतको मुख्य आधार भएको छ। जब धेरै नेपालीले ममदानीका योजना र अजेन्डाबारे थाहा पाए, उनको समर्थनको आधार फैलँदै गयो: किफायती रूपमा बस्न सकिने शहरका रूपमा न्युयोर्कको विकास, राम्रो सार्वजनिक यातायात, सस्तो दैनिक उपभोग्य सामान, स्थिर आवास, विस्थापन-डिपोर्टेसनको अन्त्यका लागि योजनाहरू।
यद्यपि, उति सजिलै र स्वाभाविक रूपमा समर्थन प्राप्त भएको होइन। अभियानकर्ताहरूले सुरुमा केही पाका, नेपाली समुदायका पुरुष नेताहरूबाट प्रतिरोधको सामना गरे। एक समाजवादी युवाले जुनमा हुने डेमोक्रेटिक प्राइमरी वा नोभेम्बरको चुनाव जित्ने कुनै सम्भावना नरहेको ठान्थे उनीहरू। पुराना र अनुभवी कोमोले नोभेम्बरको चुनावमा रिपब्लिकन प्रतिद्वन्द्वीलाई हराउन सक्थे भन्ठान्थे उनीहरू।
ड्रम बीट्सका नेपाली आयोजक आदित सिवाकोटीले भने, "सभासद् सरहाना श्रेष्ठलाई जोहरानका लागि नेपालीहरूको कार्यक्रममा ल्याउनुले [नेपाली समुदायको धारणा] सकारात्मक प्रतिक्रियातर्फ बदल्न मद्दत गर्यो।" तर, संगठनले नेपाली समुदायलाई संलग्न गराउन निकै धेरै प्रयत्नहरू गरेको थियो। "यो अभियानका लागि नेपालीहरूसँग हामीले गरेको प्रत्यक्ष सम्पर्कको अभ्यास अमेरिकामा पहिले कहिल्यै गरिएको थिएन," सिवाकोटीले बताए।
कोमोको चुनावी अभियान ठूला दाता र बाहिरी संगठनहरूको सहयोगमा निर्भर थियो भने ममदानीको अभियान स्वयंसेवकको सहयोग आधारित थियो। ड्रम बीट्सले नै ज्याक्सन हाइट्स, वुडसाइड, सनीसाइड, रिजवुड, एल्महर्स्ट र इस्ट एल्महर्स्टजस्ता छिमेकमा नेपालीहरूसम्म पुग्न विशेष रूपमा ४० भन्दा बढी स्वयंसेवक परिचालन गरेको थियो। स्वयंसेवकहरू फोनमार्फत र घरदैलो पुगेर मामदानीको पक्षमा प्रचार गरे। समूहले नेपाली भाषामा १ हजारभन्दा बढी फोन कलहरू नै गरेको थियो। ड्रम बीट्सले हिमालयन याक र ठमेलजस्ता लोकप्रिय रेस्टुरेन्ट र बारहरूसँग साझेदारी गरेर आफ्नो सन्देश फैलाएको थियो। ड्रम बीट्सले ममदानीलाई यहाँस्थित सत्यनारायण मन्दिरमा किरात राई समाजले आयोजना गरेको सामुदायिक कार्यक्रममा समेत ल्याएको थियो।
जोहरानको जितले डेमोक्रेटिक पार्टीको संस्थापन पक्ष/नेतृत्वलाई मात्रै झट्का दिएको छैन, ट्रम्पको रिपब्लिकन पार्टीमा समेत चिन्ता बढाएको छ। न्युयोर्कजस्तो शहरमा सर्वसाधारणको भावना बोक्ने एक राजनीतिक ताराको उदयलाई दुवै पार्टीले स्वाभाविक रूपमा खतरा ठानेका छन्। मामदानीजस्तै नयाँ राजनीतिक नेता देशभर उदाउन सक्छन् भन्नेमा डेमोक्र्याटहरू चिन्तित छन् भने मामदानीको सन्देशले राष्ट्रिय गति लिन सक्ने, र झनै खराबचाहिँ उनको दृष्टिकोणको कार्यान्वयन वास्तवमै सफल होला भन्नेमा रिपब्लिकनहरू चिन्तित छन्। डेमोक्रेटिकहरू कति चिन्तित छन् भन्ने कुरा त यसै तथ्यले पनि थाहा हुन्छ–डेमोक्रेटिक पार्टीका धेरै नेताले अझै पनि न्युयोर्कको मेयर चुनावका लागि आफ्नै पार्टीको आधिकारिक उम्मेदवार (माम्दानी) लाई समर्थन गरेका छैनन्।
अर्कोतर्फ, राष्ट्रपति डोनाल्ड ट्रम्पले खुल्ला रूपमा ममदानीको नागरिकतामाथि नै प्रश्न उठाइरहेका छन्। जोहरान क्वामे ममदानीको युगान्डामा जन्मेका थिए, र उनको परिवार अमेरिका बसाइँ सर्दा उनी सात वर्षका थिए। समीक्षकहरूले प्रशंसा गर्ने फिल्म निर्माता हुन् उनकी आमा मिरा नायर। उनले क्यान्स फिल्म फेस्टिभल र भेनिस फिल्म फेस्टिभलहरूबाट धेरै प्रतिष्ठित पुरस्कार जितेकी छन्। उनका पिता महमूद ममदानी अत्यन्तै सम्मानित तथा पुरस्कारप्राप्त विद्वान र लेखक हुन्, जो कोलम्बिया विश्वविद्यालयमा प्राध्यापकको रूपमा कार्यरत छन् र साथै कम्पाला अन्तर्राष्ट्रिय विश्वविद्यालयका कुलपति पनि हुन्। जोहरान सन् २०१८ मा 'न्याटुरलाइज्ड अमेरिकन सिटिजन' (प्रक्रिया पुर्याएर बनेका नागरिक) बनेका थिए।
षड्यन्त्र सिद्धान्त प्रवर्द्धन गर्दै, उदाउँदै गरेका राजनीतिक व्यक्तिमाथि प्रश्न गर्ने/शंका उत्पन्न गर्ने ट्रम्पको पुरानै रणनीति हो। सन् २०११ मा ट्रम्पले नै राष्ट्रपति ओबामाको नागरिकतामाथि प्रश्न उठाउँदै त्यसलाई सार्वजनिक र राजनीतिक एजेन्डा बनाए। ट्रम्पको त्यस भूमिकाले उनलाई फक्स न्युजका सोहरूमा नियमित अतिथि बनायो, जसले उनलाई रिपब्लिकन पार्टीमा प्रभावशाली व्यक्तित्व बनायो। परम्परागत/रूढीवादी टक सोहरूमा निरन्तर पाहुना बनायो। यिनै सार्वजनिक उपस्थितिहरूलाई उपयोग गर्दै आफ्नो राष्ट्रपतीय अभियान सुरु गरे ट्रम्पले।
ओबामाको नागरिकतामाथि प्रश्न उठाएको पाँच वर्षपछि राष्ट्रपति बने डोनल्ड ट्रम्प। अहिले आएर, आफ्नो दोस्रो कार्यकालमा, ट्रम्पले ममदानीलाई अवैध आप्रवासीको रूपमा चित्रण गरिरहेका छन् र यदि उनले आईसीई (आप्रवासन नियमको कार्यान्वयन तथा भन्सारसम्बन्धी नियमको निगरानी गर्ने प्रमुख संघीय निकाय) को काममा अवरोध गरे उनलाई पक्राउ गरी निर्वासित गर्ने धम्कीसमेत दिइरहेका छन्। यसैबीच, ट्रम्पले न्युयोर्कको वर्तमान मेयर एरिक एडम्सलाई समर्थन गरिरहेका छन्। उनी भ्रष्टाचारका मुद्दामा फसेका र डेमोक्रेटिकले प्राइमरी जित्न नसक्ने ठानेर स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्ने निर्णय गरेका व्यक्ति हुन्।
अहिलेदेखि नोभेम्बरको चुनावको दिनसम्म के हुन्छ, सो अनिश्चित छ। एन्ड्रयू कोमोले प्रति मत औसत ८७ डलर खर्च गरे, जबकि जोहरान ममदानीले १९ डलरभन्दा कम खर्च गरे। तैपनि, ममदानीले कोमोलाई १२ प्रतिशत मतले पराजित गरे। तर कोमोले अझै पनि दौडबाट बाहिरिने निर्णय गरेका छैनन् र चुनावमा स्वतन्त्र रूपमा लड्ने विचार गरिरहेका छन्। यसैबीच, प्रभावशाली अफ्रिकी अमेरिकी व्यक्तित्व रेभरेन्ड अल सार्पटनले हालै ममदानीलाई आफ्नो सोमा निम्त्याए र उनको प्रशंसा गर्दै दर्शकहरूलाई उनी नै मेयरका लागि सही विकल्प भएको बताए, कोमोलाई प्रतिस्पर्धाबाट बाहिरिन आग्रह गरे। पहिले कोमोलाई समर्थन गरेका श्रमिक युनियनहरूले पनि अब औपचारिक रूपमै ममदानीलाई समर्थन गरेका छन्।
यसैबीच, तथ्यांकले नेपाली समुदायका मतदाताले भारी रूपमा ममदानीलाई मत दिएको देखायो। अहिलेदेखि नोभेम्बरसम्म, खुलेआम भ्रष्टाचारमा मुछिएका वर्तमान मेयरविरुद्ध ममदानीले आफ्नो अभियान चलाउनेछन्। यसबीच ममदानीले जात र धर्ममा आधारित थप आक्रमणहरूको सामना गर्नुपर्ने निश्चित छ। मजदुर वर्गको हितको लागि उनले थालेको अभियानविरुद्धका अनेक अभियानहरूमा आर्थिक सहयोग गर्न अरबपतिहरू प्रतिबद्ध भइसकेका छन्। गत चुनावमा न्युयोर्क शहरमा ११ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका ट्रम्पले सम्भवतः ममदानीमाथि अझ आक्रामक रूपमा प्रस्तुत हुनेछन्। यद्यपि, यी सबै कारणले ममदानीलाई न्युयोर्क र अमेरिकाभर ठूलो समर्थन आधार प्राप्त गर्न बल मिल्नेछ भने र ममदानीका प्राइमरीका मतदाता पनि आफ्नो उम्मेदवार न्युयोर्क शहरको अर्को आगामी मेयर बन्ने कुरामा थप दृढ हुनेछन्। जहाँसम्म नेपाली समुदायको कुरा गर्दा, उनीहरू प्रस्ट छन्। भारी मतले जोहरान ममदानीलाई मत दिन तयार छन्।
(उकालो विचार खण्डमा छापिएका सामाग्री लेखकका निजी हुन्। अमेरिकामा रही नेपाली समुदायबारे लेख्दै आएका लेखक एसेम्ब्ली मेम्बर सरहाना श्रेष्ठका भाइ हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
