अमेरिका अध्ययनमा जाने तयारी गरिरहेका विद्यार्थीलाई आफ्ना सामाजिक सञ्जाल खाता जोसुकैले हेर्नसक्ने गरी खुला राख्न दूतावासले सार्वजनिक रूपमै भनेको छ। किन राखियो यस्तो शर्त?
काठमाडौँ— मोरङका रविन उप्रेतीले अमेरिकाको क्यालिफोर्नियास्थित एक विश्वविद्यालयमा स्नाकोत्तर पढ्न आवेदन दिएका थिए। उनलाई विश्वविद्यालयले ‘अफर लेटर’ पनि दियो। अमेरिकी दूतावासबाट जुलाईको शुरूमै भिसा अन्तर्वार्ताको समय पाए।
केही दिनअघि अन्तर्वार्ताका लागि उनी महाराजगञ्जस्थित दूतावास पुगे। दूतावासका कर्मचारीले उनलाई अन्तर्वार्तामा फेसबुक खाता भए/नभएको सोधे। उनले भिसा आवेदन दिँदा आफ्नो फेसबुक खाताको लिंक राखेका थिएनन्।
रविनले फेसबुक खाता नभएको बताएपछि उनका अन्य सामाजिक सञ्जालका ‘आईडी’ मागियो। ‘प्रोफाइल’ र ‘पोस्ट’ सबैले हेर्नमिल्ने बनाउन पनि भनियो। उनले आफ्नो लिंकटिन र इन्स्टाग्राम अकाउन्टको लिंक पठाइदिए।
त्यसपछि, उनलाई गुलाबी रङको चिर्कटो दिएर पठाइयो। दूतावासले दिने गुलाबी चिर्कटोको अर्थ ‘केही समय पर्ख, तिम्रो कागजात र अन्य प्रक्रिया पूरा भएको छैन’ भन्ने हो।
अहिले उनी भिसाको निर्णयको पर्खाइमा छन्। उनी भन्छन्, “मैले फेसबुक चलाउँदिनँ भनेपछि अन्य सामाजिक सञ्जालबारे सोधियो। मेरो लिंकटिन र इन्स्टाग्राम आईडी दिएको छु। किन हेर्न खोजिएको हो मलाई थाहा छैन।”
अमेरिका अध्ययनमा जाने प्रयास गरिरहेका विद्यार्थीलाई आफ्ना सामाजिक सञ्जाल ‘लक’ नगर्न दूतावासले सार्वजनिक रूपमै भनेको छ। दूतावासबाट जुन २५ मा जारी विज्ञप्तिमा सुरक्षासँग सम्बन्धित विषय भएको भन्दै सामाजिक सञ्जाल खाता सार्वजनिक गर्न भनिएको छ।
“आजैदेखि प्रभावकारी रूपमा एफ, एम वा जे श्रेणीका आप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई सार्वजनिकमा परिवर्तन गर्न अनुरोध गरिन्छ,” दूतावासबाट जारी विज्ञप्तिमा भनिएको छ।

यसले पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउने दूतावासको भनाइ छ। ‘एफ’, ‘एम’ र ‘जे’ गैरआप्रवासी भिसा हुन्। यस्तो भिसा अमेरिकामा अध्ययन गर्न वा एक्सचेन्ज कार्यक्रमहरूमा सहभागी हुन चाहने विदेशीलाई दिइन्छ।
एफ–वान भिसा शैक्षिक विद्यार्थीलाई दिइन्छ। एम–वान भिसा प्राविधिक वा गैर–शैक्षिक विद्यार्थीका लागि र जे–वान भिसा सांस्कृतिक वा शैक्षिक एक्सचेन्ज कार्यक्रममा सहभागी हुनेलाई दिइन्छ। यीबाहेकका भिसा आवेदन दिनेको सामाजिक सञ्जाल परीक्षणबारे विज्ञप्तिमा केही उल्लेख छैन। तर कतिपयको फेसबुक डिटेल र च्याटसमेत मागिने गरिएको छ।
‘डिपेन्डेन्ट’मा अमेरिका जान लागेकी काभ्रेकी यमुनालाई आफ्ना श्रीमान्सँग भएको फोटो विभिन्न पोस्ट र च्याट हिस्ट्रीसम्म मागियो। उनी भन्छिन्, “मलाई श्रीमान्सँगको च्याट र बुढाबुढीको फोटोमा दुवैतिरका परिवारले गरेको कमेन्टको फोटोकपी गरेर बुझाउन भनियो र बैंकमार्फत बुझाएँ।”
दूतावासले व्यक्तिको सम्बन्ध पहिचानका लागि यस्तो परीक्षण गर्दै आएको थियो। तर अहिले विद्यार्थीका लागि जारी गरेको सूचना भने ट्रम्प प्रशासनको आप्रवासी नीतिसँग जोडिन्छ।
अमेरिकामा अध्ययन वा एक्सचेन्ज कार्यक्रमका लागि आवेदन दिने विदेशी विद्यार्थीको अनलाइन गतिविधि परीक्षण गर्ने घोषणा अमेरिकी विदेश मन्त्रालयले केही समयअघि गरेको थियो। यदि कसैले आफ्नो सामाजिक सञ्जाल गोप्य राखेमा अमेरिकी अधिकारीहरूले त्यस्ता विद्यार्थीबाट केही लुकाउन खोजिएको आशंका गर्ने बताइएको छ।
द गार्जियनका अनुसार विदेश मन्त्रालयले सार्वजनिक गरेको नयाँ निर्देशनअनुसार अमेरिकी कूटनीतिज्ञहरूले भिसाका लागि आवेदन दिएका विद्यार्थीमा सामाजिक सञ्जालमार्फत अमेरिकाका नागरिक, संस्कृति, सरकार, संस्था वा संविधानका मूल्यमान्यताप्रति कुनै पनि प्रकारको विरोध देखाउने गतिविधि छ कि छैन भनेर अनलाइन समीक्षा गर्नुपर्नेछ। यदि कसैले विदेशी आतंकवादीहरूलाई समर्थन गर्ने, सहयोग गर्ने वा अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा पुग्ने गतिविधिमा संलग्न भएको प्रमाण फेला परे वा हिंसालाई समर्थन गरेको देखिए त्यसबारे रिपोर्ट गर्न ट्रम्प प्रशासनले भनेको छ।
इजरायलले गाजामा गरेको युद्धसम्बन्धी आलोचनालाई दबाउन विश्वविद्यालयका पढिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सामाजिक सञ्जालसमेत ट्रम्प प्रशासनले निगरानी गरेको थियो। कतिपय नागरिकलाई त्यस्तै गतिविधिका आधारमा डिपोर्टसमेत गरेको छ। अहिले नयाँ नियमअनुसार भर्नाका लागि आवेदन दिएका विद्यार्थीका क्रियकलापमा अमेरिका विरोधी गतिविधि भए÷नभएको जाँच गर्न खोजिएको हो।
“अमेरिकी नागरिकको अपेक्षा सरकारले देशलाई सुरक्षित राख्न सक्दो प्रयास गरोस् भन्ने छ र ट्रम्प प्रशासनले त्यही गरिरहेको हो,” द गार्जियनसँग ट्रम्प प्रशासनका एक कर्मचारीले भनेका छन्, “यहाँका विश्वविद्यालयहरू र समग्र देश सुरक्षित बनाउने काम भइरहेको छ।”
ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ शैक्षिक भिसा दिने प्रक्रिया केही समयका लागि रोकिदिएको थियो। अहिले विदेश मन्त्रालयले नयाँ विद्यार्थीका लागि भिसा अन्तर्वार्ताको प्रक्रिया खोलिदिएको छ। तर भिसा दिने कन्सुलर अधिकारीलाई आवेदनदाताहरूको सामाजिक सञ्जालहरूको राम्रो परीक्षण गर्न निर्देशन दिएको छ।
नेपालस्थित अमेरिकी दूतावासले विद्यार्थीको सामाजिक सञ्जाल परीक्षण राष्ट्रिय सुरक्षासम्बन्धी कामका लागि गरिएको सूचना असार १८ गते जारी गरेको छ। “तपाईंको आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा तपाईंको भिसा अस्वीकृत हुन सक्छ,” दूतावासबाट जारी सूचनामा लेखिएको छ। यदि भिसा आवेदन दिने विद्यार्थीले सूचना नदिएमा भविष्यमा पनि अमेरिकाको भिसाका लागि अयोग्य ठहरिन सक्ने चेताावनीसमेत दिइएको छ।
केही समयअघि ट्रम्प प्रशासनले आफ्नो नीतिअनुसार नचल्ने हार्वड, प्रिन्सटन, कर्नेल, नर्थवेस्टर्न, ब्राउन, पेन्सिलभानियालगायत विश्वविद्यालयको अनुदान रोकिदिएको थियो। हार्वड विश्वविद्यालयले पाउने २.३ बिलियन डलरभन्दा बढीको अनुदान रोक्का गरिदिएको थियो भने अरु विश्वविद्यालयको पनि संघीय अनुदान कटौति गरिदिएको हो।
ट्रम्प प्रशासनले विश्वविद्यालयमा विविधता, समानता र समावेशीकरणका कार्यक्रम हटाउन, क्याम्पसमा प्रदर्शनकारीलाई मास्क लगाउन नदिन र यहुदी विरोधी गतिविधि दबाउन भनिएको थियो। विद्यार्थी भर्नाको तरिका फेरबदल गर्नसमेत निर्देशन थियो। विश्वविद्यालयहरू ‘एक्टिभिजम’मा केन्द्रित भएको भन्दै ट्रम्प प्रशासनले विश्वविद्यालयहरूलाई आफ्नो नीति मान्न निर्देशन दिएको थियो। नमान्ने विश्वविद्यालयको अनुदान रकम रोकिदिएको थियो।
(पात्रहरूको नाम उनीहरूकै अनुरोधमा परिवर्तन गरिएको छ।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
