बीपी राजमार्गको काभ्रे खण्डमा राति यातायात सञ्चालनमा रोक

बढ्दो बाढीपहिरोको जोखिमका कारण बीपी राजमार्गको काभ्रे खण्डमा आगामी आइतबारदेखि एक महिनासम्म राति साढे दश घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ।

फाइल तस्वीर

काभ्रेपलान्चोक– बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकले आज जारी गरेको सार्वजनिक सूचनाअनुसार, काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाइएको हो।

सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ।

यसअघि असार ६ गते काभ्रेपलान्चोक, सिन्धुली र रामेछापको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बीपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई राति सञ्चालनमा रोक लगाइएको काभ्रेपलान्चोक प्रमुख जिल्ला अधिकारी उमेश ढकालको भनाइ थियो।

उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलान्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो।

आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलान्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ।

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड सडक नै बगाएको थियो। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यस राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन्।

बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ।