भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

काठमाडौँ– भोजपुरको रामप्रसाद गाउँपालिका-२ धोद्लेखानीमा एकै व्यक्तिले ४ जनाको हत्या गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले ससुरालीमा सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन्। राजेन्द्र आफै पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ। 

घटनापश्चात राई आफैँले आज बिहान प्रहरीलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए।  

श्रेष्ठका अनुसार राजेन्द्रले शनिबार राति ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरीको हत्या गरेको बयान दिएका छन्। 

परिवारकै हत्या भएकाले घटनाबारे विस्तृतमा बुझ्न कठिनाइ भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। “परिवारकै हत्या भएको छ। उहाँहरूको आन्तरिक विवादको विषय बुझ्न पाएका छैनौँ,” उनले उकालोसँग भने, “आरोपित (राजेन्द्र) ससुराली आएर बसेको २०/२२ दिन भएको रहेछ। तिमीहरू सबैलाई मार्छु भनेर बेलाबेला धम्क्याउने गरेको रहेछ। आन्तरिक विवाद थाहा हुन सकेको छैन।”

राजेन्द्रको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर लाने तयारी भइरहेको छ।