वायु प्रदूषणका कारण सरदर नेपालीको आयु साढे तीन वर्षले घटिरहेको र हरेक वर्ष करिब २६ हजार मानिसको अकालमै ज्यान गइरहेको प्रतिवेदनमा उल्लेख छ।
काठमाडौँ– विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले नेपालमा वायु प्रदूषण स्वास्थ्यका लागि सबैभन्दा ठूलो जोखिम बनेको औँल्याएको छ। यसले मृत्यु र अपांगताको प्रमुख कारण वायु प्रदूषण रहेको औँल्याएको हो।
प्रतिवेदनले काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणका लागि ‘हटस्पट’ रहेको र विगत एक दशकमा कुनै सुधार नभएको देखाएको छ। वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउने र वार्षिक करिब २६ हजार जनाको अकालमा मृत्यु निम्त्याउने प्रतिवेदनमा उल्लेख छ।
“स्वास्थ्यका अतिरिक्त, यसले श्रम उत्पादकत्व, पर्यटन र उड्डयन क्षेत्रमा समेत असर गरिरहेको छ,” प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनअनुसार, खराब वायु गुणस्तरको आर्थिक लागत प्रत्येक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६ प्रतिशतभन्दा बढी छ।
वायु प्रदूषण नियन्त्रणका लागि क्षेत्रीय र बहु-क्षेत्रीय स्तरबाट प्रयासहरू आवश्यक रहेकोमा विश्व बैंकले जोड दिएको छ। यसका लागि सवारीसाधनको विद्युतीकरण, निरीक्षण र मर्मत प्रणालीको सुदृढीकरण तथा सडकको धुलो घटाउनुपर्ने सुझाव दिइएको छ।
साना तथा मझौला उद्यमहरूमा विद्युतीय र पेलेट बोयलरसहित स्वच्छ प्रविधि अपनाउनुपर्ने, इँटा र सिमेन्ट कारखानाजस्ता औद्योगिक क्षेत्रहरूमा जैविक ऊर्जाको प्रयोग गर्नुपर्ने, खाना पकाउने कार्यमा विद्युतीय चुल्हो र बायोमास इन्धनको प्रयोग बढाउनुपर्ने, वनमा लाग्ने डढेलो नियन्त्रण गर्नुपर्ने र सीमापार वायु प्रदूषणको असर कम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय डिभिजन निर्देशक डेभिड सिस्लेनले नेपाललाई वायु गुणस्तर सुधार कार्यक्रमहरूमा वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन विश्व बैंक प्रतिबद्ध रहेको बताएका छन्।
“राम्रो स्वास्थ्य र समृद्धिका लागि स्वच्छ हावाको अटल समर्थकका रूपमा, विश्व बैंकले नेपालमा स्वच्छ हावाका लागि गरिने हाम्रा प्रयासहरू प्रभावकारी र दिगो छन् भनी सुनिश्चित गर्न विश्वभरबाट आफ्नो व्यापक ज्ञान र अनुभवलाई निरन्तर उपयोग गरिरहेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
