टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ भने उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी राखेका छन्।

अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीले ५० जनाको ज्यान लिएको छ। उद्धारकर्मीहरूले हराइरहेका २७ जना बालिकाको खोजी जारी राखेका छन्।

मध्य टेक्सासमा पानीको सतह बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ। ग्वाडालुप नदीमा मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर)ले पानीको सतह बढेको थियो। केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका बेला आएको बाढीका कारण ठूलो संख्यामा मानवीय क्षति भएको हो।

बाढी प्रभावित क्षेत्रका शेरिफ ल्यारी लेइथाले भने, “हामीले केर काउन्टीमा ४३ मृतकको शव निकालेका छौँ। तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन्।” अन्य काउन्टीमा पनि बाढीको असर परेको र धेरै पीडित फेला परेका छन्। यस बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेको संख्या ५० पुगेको छ।

टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा बेपत्ताको खोजी कार्य जारी राखेको बताए। उनले भने, “बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहनेछ।”

टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप संघीय स्रोतको अनुरोध गरिरहेको बताए। उपराष्ट्रपति जेडी भान्सले शनिबार यस विपत्तिलाई ‘नबुझिने खालको त्रासदी’को संज्ञा दिएका छन्।

टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताए। मार्टिनले यस विपत्तिलाई 'सामूहिक हताहतको घटना' भनेका छन्।

राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित क्याम्प मैदानसहित दर्जनौँ सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दालाई चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ फिटसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ, जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो।