नियमविपरीत राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फर्काउन गृहको निर्देशन

गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई नियमविपरीत राखिएका निजी सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन दिएको छ।

काठमाडौँ– गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीलाई नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणीन्द्रमणि पोखरलेले मंगलबार 'विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७' विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए फिर्ता गर्न निर्देशन दिएको बताएका हुन्।

उनका अनुसार विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनका लागि विशिष्ट व्यक्तिहरूको सुरक्षा र सम्मानलाई ध्यान दिँदै सरकारले उक्त कार्यविधि जारी भएर कार्यान्वयनमा रहेको छ। उक्त कार्यविधिमा तोकिएअनुसार बहालवाला तथा पूर्वकर्मचारी/सुरक्षाकर्मीहरूले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ।

उनले उक्त कार्यविधिमा पालना गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको बताए। "कार्यविधिमा व्यवस्था भएकोभन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ", उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।