नेप्से परिसूचकमा सामान्य सुधार, साढे ९ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक २.४० अंकले बढेर २,७०६.३६ को विन्दुमा पुग्दा नौ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन शेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४० अंकले बढेर २,७०६.३६ को बिन्दुमा कायम भएको हो।

आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ। कुल ३१८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा नौ अर्ब ५० करोड तीन हजार २६८ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि बिहीबार नौ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो।

आजको कारोबारमा अन्य समूह सर्वाधिक ३.०६ प्रतिशतले बढ्दा वित्त समूह २.४९ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३, म्युचुअल फन्ड ०.१४ र व्यापार समूहको उपसूचक पनि ०.८८ प्रतिशतले वृद्धि देखिएको छ। आज विकास बैंक १.५३, होटल तथा पर्यटन ०.२५, जलविद्युत् १.०५, जीवन बीमा १.३०, लघुवित्त ०.०६ र निर्जीवन बीमा समूहको उपसूचक ०.५१ प्रतिशतले घटेको छ।

आज नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने, गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य सर्वाधिक ८.८७ प्रतिशतले घटेको छ।

कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्सको ४९ करोड ४० लाख ८ हजार ४८५ रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, सबैभन्दा बढी एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को ५१ लाख ५६ हजार ७५० कित्ता शेयर खरिदबिक्री भएको छ।