यी ३ प्रदेशमा आज भारी वर्षाको सम्भावना

कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

काठमाडाैँ–  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी प्रदेश र त्यहाँबाट पश्चिमका केही भागमा पानी परिरहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

देशभर मनसुनी वायुका साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।