टेक्सासमा बाढीमा परी मृत्यु हुनेको संख्या ८२ पुग्यो, ट्रम्पले के भने?

पूर्वजानकारी दिने तथा उद्धार गर्ने सरकारी निकायको क्षमतामाथि प्रश्न उठेको छ। बजेट कटाैतीको विषयलाई लिएर ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।

तस्वीर: सीएनएन

काठमाडाैँ– अमेरिकी राज्य टेक्सासमा अचानक आएको बाढीमा ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ भने ४१ जना बेपत्ता छन्। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार बाढीले सबैभन्दा बढी असर गरेको केर काउन्टीमा २८ बालबालिकाको मृत्यु भएको छ।

राहत र उद्धार कार्य जारी छ। अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। बाढीले केर काउन्टीको नदी किनारको शिविर मिस्टिकलाई असर पारेको छ। दश बालिका र एक सल्लाहकार अझै बेपत्ता छन्। यो क्षेत्र खोजी अभियानको मुख्य केन्द्रबिन्दु बनेको छ।

टेक्सासका गभर्नर ग्रेग एबोटले सबै बेपत्ता व्यक्तिहरूलाई खोज्न कुनै कसर बाँकी नराखिने बताएका छन्। मौसम विभागले आगामी २४ देखि ४८ घण्टामा यस क्षेत्रमा आँधी आउन सक्ने चेतावनी दिएको छ, जसले राहत कार्यलाई असर गर्न सक्ने बताइएको छ।

गभर्नर एबोटले टेक्सासका केही भागहरूमा अझै पनि अचानक बाढीको खतरा रहेको बताएका छन्। धेरै क्षेत्रमा अझै वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढीको कारण अधिकारीहरूले आज दिउँसो केर काउन्टीको हन्ट समुदायका मानिसहरूलाई उच्च जमिनमा सर्न आग्रह गरेका छन्।

केर काउन्टीका अधिकारीहरूले बाढीको चेतावनी साइरन जडान गर्नेबारे पहिले नै विचार गरेको भए पनि योजना कहिल्यै सफल नभएको बताएका छन्। राष्ट्रिय मौसम सेवाले आँधी आउनुअघि धेरै अलर्टहरू जारी गरे पनि, एजेन्सीको कर्मचारी र विपत्तिको समयमा स्थानीयसम्म पुग्ने क्षमतामाथि प्रश्न उठेको छ। यसका पछाडि सरकारी बजेट कटाैतीको विषयलाई लिएर ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।

अर्बपति एलन मस्कको सल्लाहअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी बजेटमा व्यापक कटाैती गरेका थिए। यद्यपि, ट्रम्पले भने टेक्सासमा अचानक आएको बाढीले निम्त्याएको त्रासदीमा राष्ट्रिय मौसम सेवामा कटौतीको भूमिका नभएको बताउने गरेका छन्। आफ्नो प्रशासनले यस आपतकालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको उनको भनाइ छ।

"यदि तपाईंले त्यसलाई हेर्नुभयो भने, त्यो कस्तो अवस्था हो, र त्यो वास्तवमा बाइडेन सेटअप थियो। त्यो हाम्रो सेटअप थिएन, तर म यसको लागि बाइडेनलाई पनि दोष दिने छैन," ट्रम्पले भनेका छन्। उनले यसलाई १०० वर्षमा हुने विपत्ति बताएका छन्।

राष्ट्रिय मौसम सेवा कर्मचारी संघका विधायी निर्देशक टम फाहीले भने स्रोत र जनशक्ति अभावमा पर्याप्त पूर्वतयारी गर्न नसकिएको बताएका छन्। सीएनएनसँगको कुराकानीमा उनले भने, "अस्टिन-सान एन्टोनियो र सान एन्जेलो कार्यालयहरूमा पर्याप्त कर्मचारी र स्रोतहरू छन् भन्ने उनको (ट्रम्प) विश्वास छ, तर ती कार्यालयमा चेतावनी समन्वय मौसमविद्को अभाव छ।" यसले गर्दा पूर्वानुमानकर्ता र आपतकालीन प्रबन्धकहरू बीच महत्त्वपूर्ण समन्वयकारी भूमिका खेल्न नसकिएको उनको भनाइ छ।