काभ्रेमा ६ हजारभन्दा बढी घरपरिवार मनसुनजन्य विपद्को उच्च जोखिममा

काभ्रेपलान्चोकमा यस वर्षको मनसुनमा ३९५ बस्तीका ६ हजार ३७५ घरपरिवार मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

फाइल तस्वीर

काभ्रेपलान्चोक– मनसुनजन्य विपद्मा काभ्रेपलान्चोकको १३ स्थानीय तहमा ३९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ। स्थानीयस्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त प्रतिवेदनमा यस वर्षको मनसुनजन्य विपद्मा उक्त संख्याको बस्तीका ६ हजार ३७५ घरपरिवार उच्च जोखिममा रहेको जनाइएको हो।

समितिका अनुसार ती बस्तीको परिवारका २३ हजार ४५ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने आकलन गरिएको हो। समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्यांकका आधारमा उक्त जनसंख्या यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने प्रक्षेपण गरेको जनाइएको छ। 

“विशेषगरी यस वर्षको बाढीपहिराले जिल्लाका रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला, दाप्चाखोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ, यसबाट सतर्कता अपनाउन आग्रह पनि गर्दै आएका छौँ”, समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने।

ढकालका अनुसार काभ्रेपलान्चोकका १३ वटै स्थानीय तहमा बाढीपहिराको उच्च जोखिम देखिएको छ। समितिलाई प्राप्त तथ्यांकअनुसार जिल्लामा सबैभन्दा बढी रोशी गाउँपालिकामा ५६ बस्ती र सबैभन्दा कम खानीखोला गाउँपालिकामा नौ बस्ती उच्च जोखिममा रहेको जनाइएको छ। रोशीमा एक हजार ४३८ घरपरिवारका तीन हजार ६६२ नागरिक उच्च जोखिममा रहेको पाइएको हो।

नमोबुद्ध नगरपालिकाकोमा एक हजार १४२ घरपरिवारका चार हजार ४११ नागरिक प्रभावित हुने आकलन गरिएको छ। यस्तै, पाँचखाल नगरका ४१ बस्तीमा ८६९ घरपरिवारका पाँच हजार ६६८ नागरिक प्रभावित हुने देखिएको हो। मण्डदेउपुर नगरमा २४ बस्तीका २४३ घरका ९४७ जना नागरिक प्रभावित हुने जनाइएको हो।

सहरी क्षेत्रमा पर्ने बनेपामा २७ स्थान जोखिममा रहेकोमा ८११ घरपरिवारका दुई हजार २६१ नागरिक प्रभावित हुने आकलन गरिएको छ भने पनौतीमा १६ बस्तीका २८६ घरका एक हजार ३९५ परिवार प्रभावित हुनसक्ने देखिएको समितिले जनाएको छ। समितिका अनुसार अर्को शहरी क्षेत्र अर्थात् सदरमुकाम धुलिखेलका २५ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका ५२१ घरपरिवारका एक हजार ३५१ नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ। 

यसैगरि तेमालको ४६ बस्तीमा ३०८ घरपरिवारका ८५०, बेचानचोकमा १३ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका ७७ घरका २८८ नागरिक सदस्य जोखिममा रहेका छन्। डाँडापारी क्षेत्रका महाभारतमा १३ जोखिमयुक्त बस्तीमा १३६ घरपरिवारका १६९, खानीखोलामा नौ उच्च जोखिम बस्तीमा ४७ परिवारका २३३ नागरिक उच्च जोखिममा रहेको जनाइएको छ। कोशीपूर्व क्षेत्रस्थित चौँरीदेउरालीको उच्च जोखिममा रहेको ३६ बस्तीका २७६ घरपरिवारका ६१९, भुम्लुमा उच्च जोखिममा रहेको ३९ बस्तीमा २२१ घरका ७९१ नागरिक प्रभावित हुने आकलन गरिएको छ। 

गतसाल असोज ११ र १२ गतेको अविरल वर्षामा बाढीपहिराका कारण काभ्रेपलान्चोक ७८ को निधन भएको थियो भने ६ जना बेपत्ता भएकाको अवस्थामा रहे। उक्त घटनामा ७५ जना घाइते भएका थिए। बाढीपहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरका १७ जना रहेका थिए। काभ्रेपलान्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन। 

बाढीपहिरोबाट अन्य जिल्लाभन्दा काभ्रेपलान्चोकमा ठूलो संख्यामा मानवीय क्षति भएको हो। मृतकको संख्या देशभर मृत्यु भएकामध्ये ३१.५६ प्रतिशत रहेको थियो। काभ्रेपलान्चोकमा बाढीपहिरामा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ। यसमध्ये २१ विद्यार्थी थिए। 

समितिले मनसुनजन्य विपद् न्यूनीकरणका लागि स्थानीय तह, विभिन्न सुरक्षा निकाय, संस्थालगायतका सरोकारवालासँग उद्धार, राहत तथा सुरक्षित स्थानमा बसोबास गराउने प्रबन्ध तयारी अवस्थामा राख्न अनुरोध गरेको छ। यस्तै, विपद्को समयमा तत्कालै प्रयोग गर्न मिल्ने गरी जिल्लाका १३५ वटा वडामा कम्तिमा प्रत्येक वडामा अथवा नजिकको वडालाई समेटेर हेलिप्याड तयार गरिएको, विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गरिएको समितिले जनाएको छ।