ट्रम्पको कर चेतावनीपछि चीनको जवाफ: ब्रिक्सले ‘टकराब’ खोजिरहेको छैन

अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा थप कर लगाउने चेतावनी दिएपछि चीनले ब्रिक्स समूहले ‘टकराव’ नचाहेको जवाफ दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा थप १० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले सोमबार ब्रिक्स समूहले ‘टकराब’ नचाहेको स्पष्ट पारेको छ। ब्रिक्समा ब्राजिल, रुस, भारत, चीनसहितका देश समावेश छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले कर लगाउने सन्दर्भमा चीनको अडान स्पष्ट रहेको बताए। “व्यापार र भन्सार शुल्क युद्धमा कोही विजेता हुँदैन र संरक्षणवादले अगाडि बढ्ने कुनै बाटो दिँदैन,” उनले भने।

ट्रम्पले हालै आफ्नो ट्रुथ सोसल नेटवर्कमा एक पोस्टमार्फत ब्रिक्स राष्ट्रहरूसँग मिल्ने उदीयमान देशहरूमा थप १० प्रतिशत शुल्क लगाउने धम्की दिएका थिए।

आइतबार रियो दि जेनेरियोमा भएको शिखर सम्मेलनमा आफ्ना शुल्कको आलोचना भएपछि उनले ती राष्ट्रहरूलाई ‘अमेरिकाविरोधी’ भएको आरोपसमेत लगाएका थिए।

ट्रम्पले व्यापारिक साझेदारसँग सम्झौतामा पुग्नका लागि आफ्नो समयसीमा समाप्त हुनुभन्दा केही दिनअघि विभिन्न देशलाई पहिलो भन्सार शुल्क पत्र पठाउने बताएका छन्। ती देशले सम्झौता गर्न असफल भएमा आयातमा अमेरिकी कर अप्रिलमा तोकिएको उच्चस्तरमा फर्कने चेतावनीसमेत उनले दिएका छन्।

दुई दशकअघि तीव्र गतिमा विकास भइरहेको अर्थतन्त्रका लागि मञ्चका रूपमा परिकल्पना गरिएको ब्रिक्सलाई अमेरिका र पश्चिमी युरोपेली शक्तिका लागि चीनद्वारा सञ्चालित प्रतिसन्तुलनका रूपमा हेरिएको छ।

यद्यपि, बेइजिङले सोमबार ब्रिक्स समूहको बचाउ गर्दै यसलाई ‘उदीयमान बजार र विकासशील देशबीच सहयोगको महत्त्वपूर्ण मञ्च’ भएको बताएको छ।

“यसले खुलापन, समावेशिता र जित–जितको सहयोगको वकालत गर्छ। यो खेमाबन्दी टकराबमा संलग्न हुँदैन र कुनै देशलाई लक्षित गरिएको छैन,” प्रवक्ता माओले भने।