शिकारीबासमा फोन गर्न रूख चढ्नुपर्ने बाध्यता

पर्साको ठोरी गाउँपालिका–३, शिकारीबासका बासिन्दाले फोन सम्पर्क गर्नका लागि रूख चढ्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।

पर्सा– पर्साको ठोरी गाउँपालिका–३, शिकारीबासका करिब ७० घरधुरी अझै पनि टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित रहेका छन्। स्थानीयले फोन सम्पर्क गर्नका लागि रुख चढ्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्।

ठोरीको हुलाकी सडकबाट करिब ६ किलोमिटर भित्री भागमा पर्ने शिकारीबासका बासिन्दा टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित भएको स्थानीय भरत महतो थारूले बताए। टेलिफोनको टावर नटिप्दा फोन सम्पर्क गर्न नसकिने उनको भनाइ छ। 

“यहाँ फोन नटिप्ने पुरानै समस्या हो। टेलिफोनजस्तो अत्यावश्यक सेवाबाट वञ्चित हुनु परिरहेको छ,” उनले भने। मोबाइलमा टावर उपलब्ध गराउन रुख चढ्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ।

यस समस्याको समाधानका लागि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल टेलिकम प्रादेशिक कार्यालय वीरगन्जलाई निर्देशन दिएका छन्।

उनले ‘अबको डेढ महिनाभित्र आवश्यक संरचना तयार पारेर टेलिफोनजस्तो अत्यावश्यक सेवा सुचारु गर्नेतर्फ आवश्यक गृहकार्य गर्न’ निर्देशन दिँदै प्रशासनका तर्फबाट पूर्ण सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीले ठोरीको टेलिकम टावरको क्षमता अभिवृद्धिदेखि फाइबरमार्फत शिकारीबासमा नेटवर्कको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।

उनले जंगलको मध्य भागको बस्ती भएकाले नेटवर्कको समस्या देखिएको स्विकार्दै अत्यावश्यक उपकरण जडान गरेर फोन र इन्टरनेट उपलब्ध गराउने प्रयास गर्ने बताए।