भोटेकोशीमा बाढी: रसुवागढी भन्सारमा राखिएका कन्टेनर बगायो, मितेरी पुलमा क्षति

नदीमा पानीको बहाव अझै उच्च गएकाले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई प्राधिकरणले अनुरोध गरेको छ।

तस्वीर: सामाजिक सञ्जाल।

काठमाडौँ– बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ। भोटेकोशी नदीमा मंगलबार बिहान ३:१५ बजे आएको बाढीले पुलमा क्षति पुगेको हो। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चीनतर्फ अविरल वर्षा भइरहेकाले भोटेकोशीमा बाढी आएको हो। बाढीले टिमुरेस्थित भन्सार यार्डमा राखिएका मालवाहक कन्टेनरसमेत बगाएको छ।

बिहान ७ बजेसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त नभएको प्राधिकरणले जनाएको छ। नदीमा पानीको बहाव अझै उच्च गएकाले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई अनुरोधसमेत गरेको छ।