भोटेकोशी बाढी: रसुवागढी नाका क्षेत्रमा क्षति, सशस्त्रको उद्धारटोली पुग्दै

पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी-रसुवागढी सडकखण्डमा भोटेकोशीको बाढीले सडक पूर्ण रूपमा कटान गरेको छ।

तस्वीर: सामाजिक सञ्जाल।

काठमाडौँ– भोटेकोशीमा आएको बाढीले रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेस्थित भन्सार कार्यालयबाट विद्युतीय गाडी र लोड गरिएका कन्टेनर बगाएको छ। 

मंगलबार बिहान आएको बाढी भन्सार कार्यालयको यार्डमा पस्दा विद्युतीय गाडी चर्जिङ स्टेसनमा क्षति पुर्‍याएको छ। ७/८ वटा गाडी र ८/९ वटा लोड कन्टेनर डिब्बासमेत बगाएको सशस्त्र प्रहरी बलले जनाएको छ। 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ। बाढीले मितेरी पुलमा पनि क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० नम्बर गुल्म रसुवाबाट सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमान्डमा विपद् व्यवस्थापन तालिमप्राप्त ७ जनासहित २१ जनाको टोली गएको छ। 

स्याफ्रुबेँसीदेखि अगाडी सडक चर्केकाले गाडी जान सक्ने अवस्था नरहेको र टोली पैदलमार्गबाट गइरहेको थापाले बताए। उनका अनुसार भोटेकोसी नदीमा बाढीको बहाव बढ्दै गएको छ।

पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेशी-रसुवागढी सडकखण्डमा भोटेकोशीको बाढीले सडक पूर्ण रूपमा कटान गरेको छ। उक्त स्थानमा पहिरोसमेत झरिरहेको प्रहरीले जनाएको छ।