भोटेकोशी बाढी: ३ प्रहरीसहित १८ जना सम्पर्कविहीन

बाढीमा परेर ३ जना प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

काठमाडौँ– नेपाल–चीन जोड्ने रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन्।

बाढीमा परेर ३ जना प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्कविहीन छन्।

उद्धारका लागि नेपाली सेना नेपाल र सशस्त्र प्रहरीसहित ९४ जनाको टोली खटिएको छ। टोलीले नौ जनाको उद्धार गरेको प्रहरी चौकी रसुवागढीले जनाएको छ। चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको जनाइएको छ।