ल्हेंदे खोलाको बाढीमा फसेका ५७ जनाको उद्धार

नेपाल–चीन सिमानामा रहेको ल्हेंदे खोलामा आएको बाढीमा फसेका ५७ जनाको उद्धार गरिएको छ।

नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिँदै। तस्वीर : रामहरि न्यौपाने / रासस

रसुवा– नेपाल–चीन सिमानामा रहेको ल्हेंदे खोलामा सोमबार राति आएको बाढी–पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाले दिएको जानकारीअनुसार तीमध्ये ३० जनालाई हेलिकोप्टरमार्फत र २७ जनालाई टिमुरे इलाकासहित अन्य स्थानबाट उद्धार गरिएको हो।

बाढी–पहिरोमा परी अझै १८ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर, र लोकेन्द्र बोहरा रहेका छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार, सम्पर्कविहीन हुनेहरूमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू र सुरेश थारू तथा बागलुङका नरेश विक पनि छन्।

यसैगरी सिन्धुपाल्चोकका पूर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ पनि बेपत्ता सूचीमा छन्।

त्यस्तै, ६ जना चिनियाँ नागरिक पनि यस बाढी-पहिरोमा परी सम्पर्कविहीन भएका छन्।

बेपत्ता व्यक्तिहरूको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छी हुँदै विभिन्न १७ स्थानमा २९४ जना सैनिक तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

हालसम्म त्रिशूली नदीको विभिन्न चार स्थानमा मानव अंग फेला परेको जानकारी गराइएको छ।