चीनले आगामी वर्ष जनवरीदेखि कोभिडका लागि तय भएका स्वास्थ्य मापदण्डहरू खुकुलो पार्दै क्वारेन्टिन नियम हटाउने भएको छ।
चीनले आगामी जनवरी ८ देखि विदेशी नागरिकहरूका लागि रहँदै आएको क्वारेन्टिन नियम पूर्णरूपमा हटाउने भएको छ।
तीन वर्षसम्म सीमामा कडाइ गरेको चीनले नियम खुकुलो पारेसँगै कामका लागि र विद्यार्थी भिजामा जाने र पारिवारिक भेटघाटमा जानेहरूका लागि सहज हुनेछ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसीले)ले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरूका लागि लाग्दै आएको क्वारेन्टिन नियम हटाइने बताएको हो।
एनएचसीले भनेको छ, “महामारीको विश्व स्थिति र सेवा क्षमता हेर्दै चिनियाँ नागरिकहरूको आवतजावतलाई पनि पुरानै स्थितिमा फर्काइने छ।”
अब चीन भ्रमणमा जाने सबै विदेशीले उडानको ४८ घण्टाअघि पीसीआर परीक्षणको प्रमाणपत्र बुझाए पुग्नेछ। चीन पुगेपछि थप परीक्षण र आइसोलेसनमा बस्नुपर्ने नियम पनि खारेज गरिने एनएचसीले जनाएको छ।
कोरोना संक्रमणको महामारी शुरू भएयता शून्य कोभिड नीति अपनाउँदै आएको चीनले हाल स्वास्थ्य मापदण्ड पूर्णरूपमा खुकुलो पार्ने निर्णय गरेको हो।
यसैबीच, एनएचसीले नोबेल कोरोना भाइरस निमोनियालाई नोबेल कोरोना भाइरस संक्रमण भनेर नामकरण गरिएको समेत बताएको छ।
तीन वर्षसम्मको लकडाउन, सीमा क्षेत्र प्रतिबन्ध र अनिवार्य क्वारेन्टिनसम्बन्धी कडा नियम जारी राख्ने चीन विश्वको पहिलो ठूलो अर्थतन्त्र हो। चीनले सन् २०२० को मार्चदेखि चीन प्रवेश गर्ने कुनै पनि नागरिक क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी नियम रहँदै आएको थियो। यसअघि चीनले एकपटकमा तीन सातासम्म पनि क्वारेन्टिन बस्नुपर्ने नियमलाई घटाएर पाँच दिन बसे पुग्ने नियम ल्याएको थियो।
तर, सोमबार एनएचसीले कोरोना संक्रमण कम भएको भन्दै अहिले भने त्यो नियम पनि हटाइएको घोषणा गरेको हो। यस्तै, चीनमा काम गर्न र पढ्न जान चाहनेहरूको भिजा प्रक्रियालाई सहज बनाउने सहयोग गर्ने पनि चिनियाँ अधिकारीहरूले बताएका छन्।
सरकारको नयाँ नियमलाई चिनियाँ नागरिकहरूले स्वागत गरेका छन्। सरकारको घोषणाको केही घण्टामै उडान बुकिङ गर्ने वेबसाइटहरूमा चाप बढेको थियो। नयाँ नियमसँगै चिनियाँ नागरिकलाई समेत विदेश आवतजावत गर्न सहज हुनेछ।
चीनले स्वास्थ्यसम्बन्धी मापदण्ड खुकुलो पार्ने निर्णय गरे पनि पछिल्लो समय संक्रमण दर भने तीव्र भइरहेको बताइएको छ। अस्पतालमा संक्रमितहरूको चाप बढेको र वृद्धहरूको मृत्यु भइरहेका रिपोर्टहरू सार्वजनिक भइरहेका छन्।
सरकारले भने संक्रमित र संक्रमणका कारण मृत्यु भएकाहरूको तथ्यांक सार्वजनिक गर्न छाडेकाले यकिन विवरण थाहा हुन नसकेको बीबीसीले उल्लेख गरेको छ।
गत शुक्रबार बेइजिङमा मात्रै ४ हजार कोभिड १९ का नयाँ संक्रमित भेटिएका थिए। यद्यपि गतसाता लगातार ४ दिनसम्म कसैको पनि मृत्यु नभएको सरकारले दाबी गरेको थियो। आइबारदेखि भने कोभिडको कुनै तथ्यांक सार्वजनिक नगर्ने नीति चिनियाँ सरकारले लिएको हो।
तर विज्ञान तथा विश्लेषणसम्बन्धी एक बेलायती कम्पनी ‘एयरफिनिटी’ले चीनमा दैनिक दश लाखभन्दा बढी संक्रमित हुने र पाँच हजार संक्रमितको मृत्यु हुने गरेको तथ्यांक संकलन गरेको रोयटर्सले जनाएको छ।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
