रसुवा बाढी अपडेट : सात शव फेला

नेपाल प्रहरीले दिएको जानकारीअनुसार रसुवामा आएको बाढीका कारण सात जनाको मृत्यु भएको छ। हालसम्म ५५ जनाको उद्धार गरिएको छ भने १८ जना अझै सम्पर्कविहीन छन्।

काठमाडौँ– तिब्बतमा भएको अविरल वर्षाका कारण रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार बाढीका कारण सात जनाको मृत्यु भएको छ। हालसम्म ५५ जनाको उद्धार गरिएको छ भने १८ जना बेपत्ता छन्। 

मंगलबार बिहान करिब ३ बजे तिब्बतमा परेको भारी वर्षाले गर्दा रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा बाढी आएको थियो। प्रहरीका अनुसार, बेपत्ता हुने १८ जनामा तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र नौ जना सर्वसाधारण रहेका छन्।

गोसाईंकुण्ड गाउँपालिकाको वडा नं. १, २ र ३, आमाछोदिङमो गाउँपालिकाको वडा नं. १, २, ४ र ५, उत्तरगया गाउँपालिकाको वडा नं. २, ४, ५, र कालिका गाउँपालिकाको वडा नं. १ बाढीबाट प्रभावित भएका छन्।

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ। यसका साथै, सातआठ वटा विद्युतीय गाडी बाढीले बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुगेको र रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति भएको जनाइएको छ।

हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडकखण्डमा बाढीका कारण सडक चर्किएकाले धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।